×

वीरगञ्ज । अस्थायी युद्ध विराम सकिएपछि युद्धमा फर्किएको इजरायलले दक्षिणी गाजाको खान युनिसमा भारी बमवारि गरेको छ। खान युनिसको बमवारि युद्ध सुरु भएयताकै भारी बमवारि भएको स्थानीयले बताएका छन् ।

गाजाका पूर्वी सहरहरूमा रहेका सर्वसाधारणलाई इजरायली सेनाले सो क्षेत्र खाली गर्न निर्देशन दिएका छन् । पूर्वी गाजाका नागरिकहरूलाई दक्षिणतर्फ जान भनिएको छ । गाजाका पूर्वी सहरहरूमा हमासका नेताहरू लुकेर बसेको आशङ्का इजरायलको छ । सो क्षेत्रमा दक्षिणी गाजा छोडेर आएका कयौँ सर्वसाधारण बसोबास गरिरहेका छन् ।

गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको पछिल्लो आक्रमणमा परी १ सय ९३ जनाको मृत्यु भएको छ ।

एक साता लामो अस्थायी युद्ध विराम सकिए लगत्तै शुक्रवारबाट इजरायलले पुनः जवाफी कारबाही सुरु गरेको छ । गत अक्टोबर ७ हमासले इजरायलमा गरेको आक्रमणमा १ हजार २ सय जनाको मृत्यु भएको छ भने २ सय ४० जनालाई बन्धक बनाइएको छ ।

इजरायलले गरेको जवाफी कारबाहीका क्रममा हालसम्म गाजामा १५ हजार २ सयभन्दा बढी मानिस मारिएका छन् । मारिनेमा ६ हजारभन्दा बढी बालबालिका रहेका छन् ।

Back to top