×

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जनसङ्ख्याको सङ्कट टार्न एक जना महिलाले कम्तीमा ८ सन्तान जन्माउनुपर्ने बताएका छन् । पुटिनले आगामी केही दशकसम्म जनसङ्ख्या बढाउने लक्ष्यसहित रुसी महिलाले बच्चा जन्माउने दर बढाउनुपर्ने बताएका हुन् ।

उनले अहिले पनि कैयौँ रुसी नागरिक सामूहिक परिवारमा विश्वास राख्ने बताउँदै अहिले पनि उनीहरूले चारदेखि पाँच सन्तान जन्माइरहेको जिकिर गरे । तर अब यो दरलाई बढाएर एक महिलाले ८ जनासम्म सन्तान जन्माउनुपर्ने पुटिनले बताए ।

पुटिनले आफूहरूका हजुरआमा, जिजुआमाहरूले ८ सन्तान जन्माएको बताउँदै अबको पुस्ताले पनि त्यसलाई निरन्तरता दिएर घट्दो जनसङ्ख्यालाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिएका हुन् । पुटिनले वर्ल्ड रसियन पिपुल्स काउन्सिललाई सम्बोधनका क्रममा सबै नागरिकले सामूहिक परिवारलाई आदर्श मान्नुपर्ने पनि उल्लेख गरे ।

राष्ट्रपतिले सम्बोधनका क्रममा सबै रुसी सार्वजनिक संस्थान र कार्यालयले पनि परम्परागत मान्यता, धर्म र सामूहिक परिवारको नीतिलाई बढावा दिनुपर्ने बताए । २० महिनादेखि युक्रेनसँग युद्ध गरिरहेको रुसका हजारौँ सैनिक मारिएका छन्। युद्धले युवा गुमाउनु परिरहेको अवस्थामा पुटिनको यो भनाइ आएको हो ।

विश्वकै ठूलो भूगोल भएको रुसको जनसङ्ख्या जनवरी २०२३ सम्म १४ करोड ६४ लाख थियो । जुन जनसङ्ख्या सन् १९९९ मा पुटिन पहिलो पटक राष्ट्रपति हुँदाको समयभन्दा कम हो ।

Back to top