×

वीरगञ्ज । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्रतिनिधित्व गरेका जनप्रतिनिधिहरूबिच विवाद भएपछि गाउँ सभा अवरुद्ध भएको छ । 

गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँ सभा हुन नसकेको हो ।

गाउँ सभा नभएपछि गाउँपालिकाका शिक्षक एवम् कर्मचारीको तलब रोकिएको छ । तलब नपाएर उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

राजनीतिक खिचातानी र जनप्रतिनिधिहरूबिचको आपसी विवादका गाउँपालिकाले गएको असार मसान्तमै गरिसक्नु पर्ने गाउँ सभा चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि हुन सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि स्थानीय निकायले असार महिनाभित्रमा आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्नुपर्छ ।

वार्षिक बजेट, नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका काम प्रभावित भएका छन् भने गाउँपालिकाभित्रका शिक्षक तथा कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता नपाएर वृद्ध वृद्धा, अपाङ्गता भएका व्यक्ति एवं एकल महिलालाई गर्जो टार्न कठिन भएको छ ।

गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर गाउँपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् ।

Back to top