×

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म ४३८ उजुरी फर्छ्योट गरेको छ ।

अनलाइनबाट दर्ता भएका १ हजार ३२१ उजुरीमध्ये छलफल विधिबाट ४३८ वटा उजुरी पीडितको पक्षमा फर्छ्योट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिए ।

यस्तै सहमति नभएपछि दुई वटा उजुरीको आधारमा मुद्दा दर्ता भएको जनाइएको छ । दर्ता भएका उजुरीमध्ये ८४५ उजुरीको छानबिन गर्दा ४३८ वटामा दुवै पक्षबिच सहमति भएर फर्छ्योट भएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले बताए । उनका अनुसार छानबिनपश्चात् ८४ कित्ताको १६ बिघा ६ कट्ठा ८ धुर जग्गा र दुवै पक्षको सहमतिमा ८ करोड ७२ लाख ६४ हजार ६१ फिर्ता गराइएको छ ।

मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटर ब्याज पीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसबापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोबापत राख्ने प्रवृत्ति रहेको पाइएको सहायक प्रजिअ लम्सालले जानकारी दिए ।

परेको उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।

छानबिनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे/नरहेको समेत अनुसन्धान गर्ने गरिएको प्रजिअ रेग्मीको भनाइ छ ।

‘उजुरीको छानबिन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ,’ प्रजिअ रेग्मीले भने, ‘त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका छलफल गराउँछौँ, अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको फर्छ्योट भइरहेको छ, यो राम्रो पक्ष हो ।’

Back to top