×

वीरगञ्ज । वीरगञ्ज १६ नगवाका महरा मल्लिक ४६ वर्षका भए । उनलाई महरा भन्दा पनि भिम भनेर सबैले चिन्छन् । हामीसँगको कुराकानीमै उनले भने, ‘महरा भनेपछि कसैले चिन्दैनन, भिम पनि लेखिदिनुहोला ।’ उनले वीरगञ्ज ५ कुम्हाल टोल चौकमै १५ सय रुपैयाँ मासिक भाडा तिर्ने गरी एउटा कोठा भाडामा लिएर कपडा धुने र आइरन गर्ने काम गरीरहेका छन् । कपडामा आइरन लगाउँदा लगाउँदै उनले पञ्चायतदेखि संघिय गणतन्त्रात्मक व्यवस्थासम्म देखे । व्यवस्था फेरियो तर उनको अवस्था फेरिनुको साटो झनै दयनीय बनेको उनको अनुभव छ । उनले हाँस्य भावमा अत्यन्तै गम्भिर कुरा बोले, ‘उ बेलाको सस्तो जमानामा दिनमा ३ हजार सम्म कमाई हुन्थ्यो, तर अचेल महङ्गीले आकाश नाघेको बेला दिनमा १ हजार पनि हुँदैन ।’ 

उनले तत्कालिन प्रधानपञ्चका कपडा पनि धोएको क्षण स्मरण गरे, ‘अहिले पनि कहिलेकाँही उहाँका कपडा मै धुन्छु । न धोएपनि आइरन गर्न यहीँ ल्याउनुहुन्छ ।’ त्यतिबेला प्रधान पञ्च बिमल श्रीवास्तव थिए । जो पूर्व सांसद तथा पूर्व मन्त्री पनि हुन् । त्यो बेला कपडा पनि धेरै हुन्थे, काम भएपछि दाम पनि हुन्थ्यो, दाम भएपछि माम । तर अचेल माम खान गाह्रो भइसक्यो ।’ 

महरा मल्लिक (भिम) 

अचेल त लुगा धुने मेशिन पनि आइसक्यो । अधिकांशको घरमा वाशिङ् मेशिन छ भने घरघरमा आइरन छ । घरघरमा वाशिङ् मेशिन र आइरन हुनु, पोखरी र तलाउ सुक्नुलाई उनले काम नपाउनुका कारण मान्छन् । पहिला ताल, पोखरी र नदी हुन्थे, सफा हुन्थे, जहाँ सहजैसँग कपडा धुन सकिन्थ्यो । तर अचेल उनले कपडा धुने नगवा पोखरीमा पानी छैन, माइदिया पोखरीको पानी प्रदूषित छ । जसका कारण धुने ठाउँ नपाएपछि उनले बिस्तारै धुने कामलाई कम गर्न थाले ।   

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतीनगर निवासी ३२ वर्षीय सन्तोष बैठा झण्डै २ दशकभन्दा लामो समयदेखि कपडामा आइरन लगाउँदै आएका छन् । बुबाले गरेको व्यवसायलाई निरन्तरता दिँदै उनले १२ वर्षकै उमेरदेखि काम गर्न थाले । वीरगञ्जको अलखिया मठ नजिकै रहेको उनको कपडा आइरन गर्ने पसलमा काम गर्दै उनले विगत सम्झिए, ‘पहिला घुम्ती घुम्तीमा बसेर कपडा आइरन गर्थे । त्यो बेला ठाउँ ठाउँमा जाँदा दुःख पाइन्थ्यो । एकदिन कोठा भाडामा लिएर काम गर्ने सपना बुनेको थिए । जुन सपनाले अहिले सार्थकता पाएको छ ।’ सपनाले सार्थकता पाएपनि अब त्यो सपना दीगो हुने संकेत भने उनले देख्दैनन् । 

सन्तोष बैठा

२ छोरी, १ छोरा र श्रीमतीसहित ५ जनाको जहान यही काम गरेरै पालीरहेको सन्तोष भन्छन्, ‘दिनमा १ हजार १५ सय रुपैयाँसम्म कमाई हुन्छ । मेरो पसल मुख्य बजारमै छ, त्यही भएर पनि अरुको तुलनामा बढी नै चल्छ । तर पहिलेको जस्तो त चल्दैन ।’

बिहानै १० बजेदेखि राती ९ बजेसम्म पनि उनी काम गर्छन्, जति हात चलाउन सक्यो उती धेरै कमाई हुने उनको अनुभव छ । कपडा आइरन गर्नका लागि आवश्यक पर्ने कोइला उनले ८ सय रुपैयाँमा १ बोरा खरिद गर्छन् । उनकाअनुसार उक्त १ बोरा कोइला एक सातामै सकिन्छ । जे होस्, खान लाउन पुगेकोमा उनी सन्तुष्ट छन् । तर यो काम सँधै चल्ला भन्नेमा उनको आशंका छ । 

उमेरले साढे ६ दशक कटेका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६५ वर्षीय धनेश्वर बैठा ४५ वर्षदेखि कपडा धुने र आइरन गर्ने काम गर्दै आएका छन् । पहिला ग्राहकका कपडाले भरिभराउ हुने उनको पसलका -याकहरु अचेल खाली देखिन्छन् । कपडामा आइरन लगाउँदा लगाउँदै उनका काला कपाल र दाह्री सेता भएर फुलीसके । ‘अब त बुढेसकाल लाग्यो, शरिरमा बल हुन्जेलसम्म काम गर्छु । पहिला जस्तो काम पनि गर्न सकिदैन र काम पनि छैन’, उनले सुनाए । 

धनेश्वर बैठा 

पुकार थापाको घर धनेश्वरको पसलकै छेउमा छ । उनले भने, ‘म नजन्मिनु भन्दा अघिदेखि उहाँले कपडा धुने र आइरन गर्ने काम गर्नुहुन्छ । अहिले म आफै ४५ वर्षको भइसके ।’ धनेश्वरलाई कामले भ्याई नभ्याई हुने गरेको पनि उनले आफ्नै आँखाले देखेका छन् भने अचेल काम नभएर फुर्सदिलो भएको दृश्यका साँची पनि हुन उनी । 

उनी भन्छन्, ‘अचेल पहिले जस्तो चल्दैन । पहिला भिडभाड हुने ठाउँमा अचेल सुनशान हुन्छ । यही टोलको आसपासमा मात्रै ६ ठाउँमा आइरन गर्छन्् । ति सबैको व्यवसाय ओरालो लागिरहेको छ ।’ पुकारले पनि पहिला धनेश्वरलाई नै आफ्ना कपडा धुन र आइरन गर्न दिन्थे । तर अचेल उनकै घरमा वाशिङ् मेशिन छ भने घरमै आइरन छ । जसले गर्दा धनेश्वरले काम पाउने अवस्था कम भयो ।

११ वर्षको कलिलो उमेरमै विवाहको बन्धनमा बाँधिएकी सुनिता देवी अहिले ४५ वर्षकी भइन् । बालकैमा बेहुली बनेकी सुनिताले ४ दशकभन्दा बढी समयको अनुभवमा विभिन्न तिता मिठा पलहरु भोग्नुप-यो । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ रानिघाटमा बस्ने सुनिताको परिवारमा २ छोरा र २ छोरीसहित ५ जनाको जहान छ  । ५ जनाको जहान पाल्ने जिम्मेवारी सुनिताकै पोल्टोमा छ । उनका श्रीमानले शुरु गरेको कपडा धुने र आइरन लगाउने काम नै उनिहरुको पेट भर्ने माध्ययम बनेको छ । 

विगतमा त्यही काम गरेरै आरामसँग गुजारा चलिरहेको सुनिताको दैनिकी अहिले भने साँझ बिहानको छाक टार्न पनि धौ धौ परीरहेको छ । ‘आज भन्दा करिब २५ वर्ष अगाडीको कुरा हो, त्यो बेला हरेक दिन कपडा प्रेस लगाउन आउनेहरुको भिड हुन्थ्यो, पसलमा पनि कपडाहरुको थुप्रो हुन्थ्यो । तर अचेल पसल पनि छैन सडकको छेउमै टेबल राखेर काम गर्छु’, उनि सुनाउँछिन् । सर्ट र पाइन्टको प्रेस लगाउँदा २० रुपैया लिने गर्दा दिनमा ५  देखी ७ सयसम्म हुने गरेकोमा अहिले मुस्किलले १ देखी २ सय रुपैया सम्म कमाई हुने गरेको छ । 

शुरु शुरुमा सहजै जिवन चल्ने सुनिताको दैनिकीमा श्रीमानको निधनपश्चात भने बज्रपात आइप¥यो । उनि भन्छिन्, ‘अहिले प्राय सबैले घर घरमै आइरन राख्ने प्रचलन बढ्दै जाँदा पनि आफ्नो पेशा धरापमा परेको हुन सक्छ ।’ आफ्नो घर पनि छैन, बिहे गरेर आएदेखी नै कोठा भाडामा बस्ने गरेको सुनिता सुनाउँछिन् । खान लाउन नै धौ धौ पर्ने कमाईबाट घर बनाउने सपना त ‘आकाशको फल आँखा तरी मर्’ भने जस्तै छ सुनिताको परिवारलाई । 

कुनै दिन अलि धेरै ग्राहक आएर कपडा पनि धेरै पाउँदा ढुङ्गा खोज्दा देउता भेटे जस्तै हुन्छ, सुनितालाई । सोचे अनुसारको काम नहुँदा र साथमा श्रीमान नहुँदा साह्रै दुःख झेल्नुपरेको उनी बताउँछिन् । कहिले दाल, भात, तरकारी । कहिले दाल र भात मात्रै भने कहिले तरकारी र भात मात्रै । कहिले केही पनि जोहो गर्न नसकेको पिडा पनि छ उनिसँग । पढेर भन्दा पनि परेर सिकिन्छ भनेजस्तै सुनिता निरक्षर नै भएपनि सोच र बिचारमा साक्षरभन्दा कम छैनीन् । उनी भन्छिन्, ‘केकारो चोरा के, ठग के नु ना खाइल जाई । समस्या परल त मांग के खाएँ में का लाज ?’अर्थात कसैको चोरेर, ठगेर पो खानुभएन । समस्या भएपछि मागेर खान के को लाज । 

यही विषयमा बुझ्नका लागि वीरगञ्जको रानीघाट, पानीटंकी, कुम्हाल टोल, गणेशमान चौक, भगवती टोल लगायतका विभिन्न स्थानका २५ जनासँग भेट्दा सबैको अवस्था उस्तै पाइयो । आफ्नो कामलाई दीगो कसरी बनाउन सकिन्छ भन्ने पिरले सबैलाई पिरोल्ने गरेको छ । आधुनिकीकरणले गर्दा विभिन्न यन्त्र आविस्कार भएसँगै पेसा धरापमा परेको उनीहरुको गुनासो छ । 


 

 

Back to top