×

फाईल फोटो

बारा । बाराको पचरौता नगरपालिकामा झन्डा मेला लगाउने विषयमा झडप भएको छ । झडपलाई सामान्य बनाउन प्रहरीले आठ राउन्ड हवाई फायर समेत गरेको बुझिएको छ ।

पचरौता – ७ स्थित बेनौलीमा आयोजना हुन् लागेको झन्डा मेलाका क्रममा झडप भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार सोमबार राती करिब १० बजे ७ बेनौलीमा झन्डा मेला लगाउने विषयमा गाउँकै दुई पक्षबिच विवाद हुँदा झडप भएको थियो ।

झडपका क्रममा ढुङ्गामुढा हानाहान हुँदा केही व्यक्ति घाइतेसमेत भएको डिएसपी न्यौपानेले बताए । उनका अनुसार स्थित सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड हवाई फायर गरी भीडलाई तितरबितर बनाएको थियो । 

यद्यपि केही समयपछि पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि थप १ राउन्ड गरी जम्मा आठ राउन्ड हवाई फायर गरेको न्यौपानेको भनाई छ । त्यसपछि भने स्थिति सामान्य बनेको उनले बताए ।

झडपमा ढुङ्गा हानाहान हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा पचरौता – ७ बस्ने ४० वर्षीय लक्ष्मी पटेल र सोही स्थानका ४२ वर्षीय चण्डीका पटेल रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको बुझिएको छ ।

Back to top