×

वीरगञ्ज । पर्सा क्रिकेट सङ्घको आयोजनामा वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हुन् लागेको छ । सङ्घले ‘प्रो क्लब च्याम्पियनसिप’ को दोस्रो संस्करण वीरगञ्जमा आयोजना गर्न लागेको हो ।

प्रो क्लब च्याम्पियनसिप एउटा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता हो । जहाँ नेपाल र भारतका झन्डै ६ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता आयोजनाका लागि क्रिकेट एसोसिएसन अफ नेपालले समेत स्वीकृत प्रदान गरिसकेको छ ।

आइतबार वीरगञ्जको होटेल भिशुवामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले आगामी २१ देखी ३० डिसेम्बरसम्म वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगिताअन्तर्गत ६ वटा घरेलु र अन्तर्राष्ट्रिय क्लबहरूको सहभागितामा १९ वटा खेल हुने सिंहले बताए । 

सङ्घको प्राविधिक सहयोगमा हुने खेलको व्यवस्थापकीय जिम्मेवारी भने जोरा इन्टरनेनेशनल नामक संस्थालाई दिइएको उनले बताए ।

प्रो क्लब च्याम्पियनसिप मार्फत वीरगञ्जमा रहेको क्रिकेटको सम्भावनालाई उजागर गर्दै जीर्ण बनिसकेको नारायणी रङ्गशालाको जीर्णोद्धार गराउने आफ्नो उद्देश्य रहेको सिंहले बताए । देशकै दोस्रो ठूलो रङ्गशालाको दर्जा बोकेको नारायणी सङ्घ र प्रदेश सरकारको उदासीनताका कारण जीर्णोद्धारका नहुन सकेको उनले आरोप पनि लगाए ।

‘यसै नारायणी मैदानबाट टुर्नामेन्ट जितेर गएका पारस खड्का नेपाली राष्ट्रिय टिमको कप्तान बने । वर्तमान राष्ट्रिय टिमका दुई उदयमान खेलाडी आरिफ र आशिफ शेखले पनि यसै नारायणी रङ्गशालामा आफ्नो क्रिकेट जीवनको सुरुवात गरेका छन्,’ उनले भने, ‘यद्यपि सरकारले ध्यान नदिँदा नारायणीको अवस्था जीर्ण छ ।’ प्रतियोगिताको माध्यमले आफूले रङ्गशाला पुन:निर्माणका लागि सङ्घ र प्रदेश सरकारलाई झकझकाउने प्रयास गर्न खोजेको उनको भनाई थियो । 

पर्सामा क्रिकेटको विकास र यस्ता अन्य प्रतियोगिताहरू सञ्चालनका लागि हातेमालो गर्न सङ्घ सधैँ तयार रहेको भन्दै उनले पर्सावासीलाई पनि प्रो क्लब च्याम्पियनसिप सफल पार्न सहयोग गर्न अपिल गरे । प्रतियोगिताको निरन्तर सञ्चालनले राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने उनले विश्वास व्यक्त गरे ।

प्रो क्लब च्याम्पियनसिपका निर्देशक दाउद अन्सारीले प्रतियोगिताको सञ्चालनले पर्सा क्रिकेटको एउटा राम्रो सम्भावना भएको क्षेत्रको रूपमा स्थापित गराउन सहयोग गर्ने बताए । क्लब क्रिकेट संस्कृतिको विकासले मात्र राष्ट्रका लागि क्रिकेट भन्ने कुरा सफल हुने अन्सारीको भनाई थियो । प्रतियोगिताले वीरगञ्जको व्यापारमा विकास र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अन्सारीले दाबी गरे ।

खेलाडीलाई अनुभवी बनाउने, सीप हस्तान्तरण गर्ने, खेल प्रति आकर्षण बढाउने र पर्सामा खेलकुद सम्बन्धित पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान दिने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको सङ्घका सचिव घनश्याम बाबु गुप्ताले बताए ।

पर्सा क्रिकेट सङ्घले प्रो क्लब च्याम्पियनसिप परियोजना स्वीकृत गरेकोले प्रतियोगिताको टुर्नामेट आयोजना, उत्पादन र खेल सम्बन्धी व्यवस्थापन भने जोरा इन्टरनेशनलले गर्ने उसकी प्रतिनिधि स्नेभी चापागाईँले जानकारी दिइन् । अस्ट्रेलियन क्रिकेटर शेन वार्नको स्मृतिमा यसअघि २०२२ मार्चमा प्रो क्लब च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो ।

Back to top