×

वीरगञ्ज । भक्ति र लोक आस्थाको चाड छठ पर्वमा आइतबार बेलुकी र मध्यरातमा छठका व्रतालु र भक्तजनले कोशी भरेका छन् ।

सँझिया घाटेका दिन साँझ सूर्य भगवान् र छठ मातालाई अर्घ्य दिएर व्रतालुहरू छठ घाटबाट घर फर्किएपछि बेलुकी घरमा र मध्यरात अर्थात् तेस्रो प्रहरमा छठ घाटमा पुगेर कोशी भर्ने चलन छ ।

छठ पूजामा खासगरी सूर्य भगवान् र छठी माताको पूजा आराधना गरिन्छ । कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथिबाट छठ पूजाको व्रत प्रारम्भ हुन्छ ।

पहिलो दिन चौथी तिथिका दिन बिहान व्रतालुहरू घर नजिकको ताल, पोखरी वा नदीमा गई नुहाइ धुवाइ गरी चोखो भई प्याज र लहसुन समेत नमिसाइएको शुद्ध शाकाहारी एवम् सात्त्विक भोजन ग्रहण गर्छन् । यस दिनलाई स्थानीय भोजपुरी भाषामा ‘नहाए खाएके’ दिन भनिन्छ ।

दोस्रो दिन भोलि पल्ट पञ्चमी तिथिका दिनलाई ‘खरना’ र ‘रसियाव रोटीको दिन’ भन्ने गरिन्छ । यस दिन साँझ पख माटोले बनाइएको नयाँ एवम् चोखो चुल्होमा व्रतालुले आँपको सुकेको दाउरा बालेर त्यसमा गुण (भेली) र चामल मिसाएर बनाइएको खीर (रसियाव) र गहुँको पिठोबाट बनाइएको रोटी प्रसादका रूपमा तयार पार्दछन् ।

चौथीका दिनदेखि उपवास बसेका व्रतालुहरूले उक्त प्रसाद (रसीयाव र रोटी) चुल्होकै छेउमा अग्नि (आगो) मा चढाएर छठी माताको पूजा आराधन गर्छन् । त्यसपछि प्रसादको केही अंश गाइलाई खुवाएपछि बाँकी प्रसाद आफूले ग्रहण गरी परिवारका सदस्य पनि खान दिन्छन् । रसीयाव र रोटीको प्रसाद ग्रहण गरे पछि व्रतालुको ३६ घण्टे निराहार र निर्जल उपवास सुरु हुन्छ ।

षष्ठीको बेलुकी छठ पूजा गरिएका घरमा कोशी भर्ने (माटोको कलश र हात्ती आकृतिको मूर्तिको पूजा गर्ने) चलन छ । यो विधि सबै व्रतालुले गर्दैनन् । जसले भाकल गरेको हुन्छ, उसैले षष्ठीका दिन बेलुकी घरको आँगनमा कोशी भर्ने गर्छन् ।

कोशीका लागि घरको आँगनमा नौदेखि २४ वटासम्म हरियो उखु (पात सहितको) लाई मुठा बनाएर फेदको पातको तल चोखो वस्त्रले बाँधेर उल्टो पिरामिडको आकारमा छ्ट्याइन्छ । उखुको बिचमा माटोले बनाइएको कलश र हात्तीको आकृतिको मूर्ति राखिन्छ । हरेक उखुको फेदमा माटोको ढकनी राखेर त्यसमा छठी माताका लागि बनाइएका प्रसाद र फलफूलहरू राखिन्छ । प्रत्येक ढकनीमा माटोको दियो बालेर पनि राखिन्छ । त्यसपछि व्रतालु र घरपरिवारका साथै छरछिमेकले उखु ठड्याइएको स्थानलाई तीन वा पाँच पटक परिक्रमा गर्दै धूप तथा जल अर्पण गर्दै भुईँमा शिर छुवाएर पूजा आराधना गर्छन् । त्यस बेला महिलाहरूले छठ माताको पारम्परिक गीत पनि गाउँदै आर्सीवाद माग्छन् ।

षष्ठीको मध्यरातमा परिवारका पुरुष सदस्यहरूले कोशीमा पूजा गरिएको उखु र पूजन सामाग्री एवम् प्रसाद लिएर छठ घाट बनाइएको जलाशय छेउमा लिएर जान्छन् । त्यहाँ पनि आँगनमा गरिएको विधि जस्तै उखुलाई छट्याएर दियो र धूप बाली पूजापाठ गरिन्छ ।

त्यसपछि कोशी (माटोको कलश र हात्ती आकृतिको मूर्ति) जलाशयमै डुबाएर उखु र अन्य प्रसाद लिई उनीहरू घर फर्किएपछि छठको निराहार निर्जल व्रत लिएका व्रतालुहरू रातिको तेस्रो प्रहरमै फेरि नुहाइ धुवाइ गरी चोखो भई पूजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन् ।

सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान् ,छोराछोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय विनय गर्छन् ।

सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठ घाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठ मातालाई अर्घ्य दिन्छन् ।

सूर्यलाई अर्घ दिए पछि छठ घाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दूर लगाइ दिन्छन् । त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किन्छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । त्यस दिनलाई ‘परना’ वा ‘पारन’ भन्ने चलन छ ।

Back to top