×

वीरगञ्ज । पर्साको वीरगञ्जलगायत सम्पूर्ण नेपालमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सम्पन्न भएको छ ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराइ/मधेसको पर्सा, बारा, रौतहट लगायत कोसी प्रदेशको सुनसरी, मोरङ लगायत देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ सम्पन्न भएको हो ।

छठ पर्वका लागि वीरगञ्जको रानीघाट, घडिअर्वा पोखरी, नगवा, मुर्ली, लक्ष्मनवा लगायत पर्सा जिल्लासहित देशका अन्य सहरी एवम् ग्रामीण क्षेत्रमा रहेका विभिन्न नदी, पोखरी, तलाउहरू दुलही झैँ सजाइएको थियो ।

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भिड लाग्छ ।

Back to top