×

वीरगञ्ज । सूर्य उपासनाको महापर्व छठको आज मुख्य दिन अस्ताउँदो सूर्यदेवलाई अर्घ्य दिइएको छ । व्रतालुहरू जलाशयमा बसेर पूजा सामग्री सूर्य देवलाई चढाएका हुन् ।

वीरगञ्जको रानीघाट, घडिअर्वा, नगवा, मुर्लीसहित पर्सा जिल्लामा रहेका झन्डै तिन सय वटा स्थानमा रहेका घाटहरू दुलही झैँ सिँगारिएर छठ घाट बनाइएको छ । आज छठको तेस्रो दिन व्रतालुहरूले सूर्य देवलाई अर्घ्य चढाएका छन् ।

सोमवार बिहान उदाउँदो सूर्य देवलाई अर्घ्य चढाएपछि छठ विधिवत् रूपमा सम्पन्न हुन्छ । छठ प्रायः नेपालको मधेसी समुदायले आफ्नो सबैभन्दा ठूलो पर्वको रूपमा मनाउने एक महत्त्वपूर्ण पर्व हो । यद्यपि विशेष श्रद्धा र भक्ति भाव पूर्वक मनाइने छठ पछिल्लो समय मधेससँगै पहाडमा पनि मनाउन थालिएको छ ।

कात्तिक शुक्ल पक्षको चौँठी तिथिदेखि विधिवत् रूपमा सुरु हुने छठ पूजा सप्तमी तिथिसम्म गरी चार दिन मनाइन्छ । शुक्रवारदेखि विधिवत् रूपमा सुरु भएको छठ पूजाको दोस्रो दिन पञ्चमी तिथि अर्थात् शनिवारका दिनदेखि व्रतालुहरू निर्जला व्रत सुरु गरेका थिए । छठको दोस्रो दिन पञ्चमी तिथिको दिनलाई ‘खरना’ भनिन्छ अथवा स्थानीय भोजपुरी भाषामा ‘रसिआव रोटी’ ।

खरना परेको शनिवार व्रतालुहरू गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी दिनभर उपवास बसेका थिए । शनिवार साँझ पख नुहाएर चोखो भई आफ्नो कुल देवताको पूजा कोठामा माटोको नयाँ चुल्हो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रूपमा पकाए । उक्त प्रसाद अर्थात् रसीआव रोटी चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेपछि व्रतालुहरूले प्रसाद ग्रहण गरेर शनिवार बेलुकीदेखि निर्जला व्रत सुरु गरेका थिए ।

खरनाको भोलि पल्ट अर्थात् आज आइतबार परेको षष्ठी तिथिको दिन छठ पर्वको मुख्य दिन हो । यस दिनलाई सँझिया घाटे भनिन्छ । व्रतालुहरू आइतबार दिउँसोको समयमा नुहाइ धुवाइ गरी नयाँ चोखो वस्त्र पहिरेर छठ पूजाका लागि नदी, पोखरी, तलाउ इत्यादि जलाशयमा तयार पारिएको छठ घाट पुगेका थिए । घरपरिवारका सबै सदस्य पनि नुहाइ धुवाइ गरी चोखो भई नयाँ लुगा लगाएर छठ घाटमा पुगेका थिए ।

घाटमा चोखो माटोले बनाइएको पूजा स्थल ‘सिरसोता’ छेउमा बसेर व्रतालुहरूले छठी माता र सूर्य भगवानसँग जोडिएका पारम्परिक गीत गाए । त्यसपछि साँझ अस्ताउँदै गरेका सूर्य भगवान् र छठी मातालाई व्रतालुहरूले जलाशयमा पसी बाँसको चोयाबाट बनाइएको सुपली र माटोको ढकनीमा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटा भएको नरिवल, भिजाएको केराउ, चामलको अछेता, पात सहितको मूला लगायतका फलफूल र प्रसाद राखेर अर्घ्य (पूजा) दिएका छन् । सूर्य अस्त पछि व्रतालुहरू छठी माताको पारम्परिक गीत गाउँदै आ–आफ्नो घर फर्किएका छन् ।

घर फर्केपछि कोशी भरेका व्रतालुहरूले आ–आफ्नो घरमा कोशी पूजा गरिरहेका छन् । कोशी पूजामा उखुलाई गोल आकारमा सजाएर त्यसको छठको लागि तयारी पारिएको प्रसादसहित दियो बालेर व्रतालुहरू जम्मा भएर गीत गाउँछन् । बालिएको दियो निभेपछि मात्र उनीहरू त्यहाँबाट उठ्छन् ।

भोलि सप्तमी तिथिका दिन अर्थात् सोमबार बिहान झिसमिसेमै व्रतालुहरू फेरी नुहाइ धुवाइ गरी चोखो भई पूजन सामाग्री र प्रसाद लिएर सूर्य नउदाउँदै छठ घाटमा पुग्छन् । सिरसोता वरिपरि बसेर छठी माताको गीत गाउँदै उनीहरूले श्रीमान्, छोरा, छोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको लागि छठी मातासँग अनुनय विनय गर्छन् ।

सप्तमी तिथिका दिन बिहान सूर्य उदाउनु भन्दा पहिले नै व्रतालुहरू सुपली र ढकनीमा सजाएर राखिएको प्रसाद, फलफूल लिएर छठ घाटको जलाशयमा पस्छन् र सूर्य उदाउने क्रममा उनीहरूले सूर्य र छठी मातालाई अर्घ्य दिन्छन् । सूर्यलाई अर्घ्य दिए पछि छठ घाटमै व्रतालु महिलाहरूले एक अर्काको नाकको टुप्पादेखि सिउँदोसम्ममा सिन्दूर लगाइ दिन्छन् । त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किन्छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । यस दिनलाई परना भन्ने चलन छ ।

Back to top