×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपालले रौतहटबाट चार थान अत्याधुनिक हतियार बरामद गरेको छ ।

रौतहटस्थित यमुनामाइ नगरपालिका–३ स्थित एक घरबाट आइतबार दिउँसो ९ एमएम पेस्तोल ३ नाल, त्यसमा लाग्ने गोली १३ गोटा, म्यागेजिन ६ वटा तथा एअर गन १ नालसमेत बरामद भएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।

घरमा हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले आइतबार दिउँसो तलासी गरेको थियो । बरामद हतियार मध्ये २ नाल पेस्तोल मेड इन यूएसए र एक नाल मेड इन इन्डिया लेखिएको छ ।

हतियारसहित मोबाइलको सिमकार्ड, मोबाइल, दशेख एजाज अहमदको नाममा जारी भएको नागरिकतासमेत बरामद भएको डिएसपी थापाले बताए । प्रहरीको अपरेसन अहिले पनि जारी छ ।

Back to top