×

देहरादुन । भारतीय उद्धारकर्मीले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् । फसेका कामदारलाई बाहिर निकाल्ने प्रयास दोस्रो हप्तामा पुगेको छ ।

एक्साभेटरहरूले गएको आइतबारदेखि उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङबाट माटो, कङ्क्रिट र भग्नावशेष निकालिरहेका छन् । निरन्तर खसेको भग्नावशेषका साथै महत्त्वपूर्ण भारी ड्रिलिङ मेसिन बारम्बार बिग्रँदा वायुसेनाले नयाँ उपकरणमा दुई पटक एयर लिफ्ट गर्नुपर्दा उद्धार प्रयास सुस्त भएको छ ।

अधिकारीहरूका अनुसार भग्नावशेषका बिच कर्कश आवाजले ‘आतङ्कको स्थिति’ उत्पन्न भएपछि शुक्रवार राति ड्रिलिङ बन्द गरिएको थियो । सरकारको राजमार्ग तथा पूर्वाधार निर्माण कम्पनी एनएचआईडीसीएलका अनुसार भग्नावशेष अझै खस्ने सम्भावनाका कारण उद्धार कार्य रोकिएको थियो ।

सुरुङमा फसेकासँग रेडियोमार्फत कुराकानी गर्ने आफन्तका अनुसार अवस्था गम्भीर छ र उनीहरूले मनोबल कम भएको बताएका छन् । “उनीहरू रोइरहेका छन् । उनीहरूलाई बचाउनका निम्ति भइरहेका उद्धार प्रयासबारे हामीले झुट बोलिरहेको हो कि भनेर सोध्न थालेका छन्,” आफ्नो नाम उल्लेख नगरी एक आफन्तले शनिवार पत्रकारलाई भने ।

इन्जिनियरहरूले भग्नावशेषको माध्यमबाट करिब ९० सेन्टिमिटर (करिब तीन फिट) चौडाइ भएको स्टिलको पाइप तेर्सो रूपमा चलाउने प्रयास गरिरहेका छन् । उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी भास्कर खुल्बेका अनुसार उद्धारकर्मीको टोलीले अहिले माथिबाट समेत पूरै नयाँ सुरुङ खन्ने विचार गरिरहेको छ ।

“हामीले कामदारहरूलाई बचाउन सबै विकल्प खोजिरहेका छौँ । हामीसँग स्रोत, विकल्प र विधिको कुनै कमी छैन,” उनले भने ।

Back to top