×

वीरगञ्ज । छठ पर्वको दोस्रो दिन शनिवार साँझदेखि व्रतालुहरूले खरना विधि पुरा गरेर निर्जला व्रत सुरु गरेका छन् । स्थानीय भोजपुरी भाषामा यसलाई ‘रसिआओ रोटी’ पनि भनिन्छ । 

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने उपासना र लोक आस्थाको पर्व छठ विधिवत् रूपमा शुक्रवारबाट सुरु भएको हो ।

छठ पर्वको पहिलो दिन शुक्रवार नहायखाय विधि सम्पन्न गरिएको थियो । कात्तिक महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन बिहान व्रतालुहरूले बिहानै नहायखाय विधि अर्थात् नुहाएर खाएका थिए । त्यो दिन व्रतालुहरूले नुहाइ धुवाइ गरी चोखो भई प्याज र लसुन समेत नमिसाइएको शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए ।

कात्तिक शुक्ल पक्षको पञ्चमी तिती अर्थात् पर्वको दोस्रो दिन शनिवार साँझ खरना विधि गरिएको छ । खरना दिन शनिवार साँझ व्रतालु महिला र पुरुषहरूले दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खर हालेर पकाइएको खिर (रसियाव), रोटी ,केरालगायत विभिन्न फलफूल तथा मिठाइ सजाएर छठी मातालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरिसकेपछि व्रतालुसहित घरपरिवारका सबै सदस्य त्यही सामग्री प्रसादका रूपमा ग्रहण गरेका छन् । यसरी खरना विधि सम्पन्न हुन्छ ।

त्यस्तै षष्ठी तिती अर्थात् पर्वको तेस्रो दिन अस्ताउँदो सूर्य र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व विधिवत् रूपमा समापन हुन्छ । अत्यन्तै निष्ठा र कठोर पर्वको रूपमा मानिने छठमा व्रतालुहरू खरनाको दिनदेखि निराहार व्रत बस्छन् ।

Back to top