×

वीरगञ्ज । पर्सामा नेपालको राष्ट्रिय झन्डा च्यातेको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको पर्सागढी नगरपालिका – ९ स्थित सिङ्गे पुलमा मादक पदार्थ सेवन गरी त्यहाँ सजाइएको राष्ट्रिय झन्डा च्यातेको आरोपमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले ११ जनालाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराज केशरीका अनुसार झन्डै छ दिन अगाडि पुलबाट झाडा चोरी भएको स्थानीयहरूले गुनासो गरेका थिए । सोही आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएकै बेला गए राती १२ बजेको करिबमा राष्ट्रिय झन्डा चोर्दै गरिरहेको अवस्थामा ११ जनालाई रङ्गे हात नियन्त्रणमा लिइएको इन्स्पेक्टर केशरीले बताए ।

पक्राउ पर्नेमा पर्सागढी नगरपालिका – १ मनवा टोलका अङ्कित पटवारी, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्ण प्रसाद पोख्रेल, बिराज ठाकुर, दिपु ओझैया, सागर चौधरी, त्यसै गरी सखुवा प्रसौनी गाउँपालिका – १ सखुवनिय टोलका गौतम महतो, नन्दन दास थारु र लक्की चौधरी रहेको इन्स्पेक्टर केशरीले जानकारी दिए ।

पक्राउ परेका ११ जनालाई जिल्ला अदालत पर्सामा उपस्थित गराएर अनुसन्धानका लागि १० दिन म्याद थप गरी हिरासतमा राखिएको केशरीले जानकारी दिए ।

Back to top