×

नेपाल सरकारले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’ लाई पचेको छैन । किनभने टिकटक कै कारण रातारात जन्मेका ती नेताहरूको प्रतिबन्धसँगै निन्द्रा हराम भएको छ । नेतासँगै समाजसेवाको देखावटी खोल ओढेकाहरूको पनि प्रतिबन्धका कारण रोइलो सुरु भएको छ । साइबार सेना नै गठन गरेर सस्तो लोकप्रियता कमाउनेहरूबिच रुवाबासी चलिरहेको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयले नक्कली आइडी बनाएर सस्तो लोकप्रियता कमाउने टिकटक विशेषज्ञ एवम् राजनीतिक मौसमविद्हरूको सपना चकनाचुर भएको छ । 

सरकारको तर्फबाट तिहारको ‘सर्प्राइज’ उपहार स्वरूप आएको टिकटकमाथिको प्रतिबन्धले टिकटकर नेताहरूको चिन्ता असाध्यै बढेको छ । किनभने लामो समयदेखि टिकटक मार्फत भ्रम सृजना गरेर आम नेपाली जनतालाई गुमराहमा गरिरहेका उनीहरूलाई प्रतिबन्धका कारण ठूलो धक्का लागेको छ । टिकटक प्रतिबन्धसँगै उनीहरूको सस्तो लोकप्रियता कमाउने माध्यममाथि नै सरकारले अङ्कुश लगाइदिएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय उपयुक्त मात्र छैन, समय सान्दर्भिक र सबै दृष्टिकोणले महत्त्वपूर्ण पनि छ । किनभने पछिल्लो समय सामाजिक सञ्जाललाई दुरुपयोग गरेर नेपालमा बसोबास गर्ने विभिन्न समुदाय, धर्म, संस्कृति र भेसभुसाका व्यक्तिहरूबिचको सामाजिक सद्भाव र पारिवारिक एकतामाथि खलल पुर्‍याउने काम भइरहेको सर्वविदितै छ । र यसमा सामाजिक सञ्जालहरूमध्ये पनि टिकटकको सबैभन्दा ठूलो भूमिका छ ।

उदाहरणका लागि केही समय अगाडि देशका विभिन्न स्थानमा भएका धार्मिक सद्भाव बिथोल्ने दुष्प्रयासलाई नै हेरौँ । त्यो बेला हिंसात्मक भाषण दिनेदेखि एक अर्काको धर्ममाथि आँच पुग्ने किसिमका अभिव्यक्ति दिने काम लगायतका अधिकांशता हरकतहरू टिकटककै माध्यमबाट भएका थिए । यद्यपि यस विषयमा टिकटकर नेताहरूले कहिल्यै बोलेको थिएनन् र छैनन् । किनभने उनीहरूलाई देशको सामाजिक र धार्मिक सद्भाव भन्दा पनि आफ्नो सस्तो लोकप्रियता प्यारो छ ।

देशमा टिकटक मार्फत हिंसा फैलिरहँदा नबोल्नेहरू आज प्रतिबन्ध लागेपछि अभिव्यक्तिमाथि अभिव्यक्ति दिइरहेका छन्, नियमनका कुरा गरिरहेका छन् । त्यही कारणले समाजभित्र विसङ्गति, विकृति र अराजकता फैलाउने प्रवृत्तिलाई नियन्त्रण तथा नियमन गर्ने मनसायबाट प्रेरित भएर टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय सोह्र आना जायज छ । मुलुकको सुरक्षा जोखिममा हुँदा सरकारले जुनसुकै बेला टिकटक जस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउन सक्नुपर्छ ।

त्यसमाथि टिकटक जस्ता सामाजिक सञ्जाल मार्फत बर्सेनि अर्बौँ रुपैयाँ देशबाट बाहिर गइरहेको छ । टिकटकमा लाइभ बसेर गिफ्ट किन्ने र दिने परिपाटीका कारण नेपालीले दैनिक लाखौँ रुपैयाँ खर्चिरहेका छन् भने लाइक, कमेन्ट र फ्लोअर्सका लागि युवाहरू अश्लीलता र आफ्नै ज्यानै जाने किसिमको जोखिमपूर्ण काम समेत गरिरहेका छन् ।

टिकटक मार्फत हुने ठगी, चरित्रहत्या, ब्ल्याकमेलिङ लगायत अन्य आपराधिक गतिविधिहरूको नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरीको चाङ नै थुप्रिएको छ । एक तथ्याङ्कअनुसार पछिल्लो समय साइबर ब्युरोमा परेको उजुरीमध्ये अधिकांश टिकटकसँगै सम्बन्धित छन् । यसले पनि टिकटक हाम्रो समाज र देशका लागि कति घातक छ भन्ने कुरालाई प्रस्ट पार्छ ।

त्यस्तै कलिलो उमेरका युवाहरूले आफ्नो भविष्य निर्माणका लागि शिक्षालाई महत्त्व दिनुभन्दा टिकटक मार्फत स्टार बन्ने विषयलाई बढी महत्त्व दिँदा उनीहरूको पढाइ चौपट भएकै छ, भविष्य समेत अन्धकार तर्फ धकेलिएको छ । टिकटकका कारण आम नेपाली सर्वसाधारणको गोपनीयता समेत जोखिममा छ । चिनिया प्राविधिक कम्पनी बाइटड्यान्सको स्वामित्वमा रहेको टिकटकले नेपाली नागरिकबाट जम्मा गर्ने डेटालाई समेत दुरुपयोग गर्दै आएको छ ।

यस्तै खालका सुरक्षा जोखिमकै कारण संसारका अन्य कयौँ देशहरूले यसअघि नै टिकटकमाथि प्रतिबन्ध लगाइसकेका छन् । उदाहरणका लागि छिमेकी मुलुक भारत, युरोपेली देशहरू बेलायत, बेल्जियम, डेनमार्क, फ्रान्स, लात्भिया, नर्वे, न्यु जिल्यान्ड, क्यानडा, पाकिस्तान, ताइवान, अमेरिका लगायतका देशहरूले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेका छन् ।

अन्त्यमा टिकटक जस्ता सामाजिक सञ्जालले प्रयोगकर्ताहरूको मनोसामाजिक स्वास्थ्यमाथि पनि असर पुर्‍याइरहेको कयौँ अध्ययनहरूले देखाएका छन् । जसले गर्दा आत्महत्या, हत्या, हिंसा र अन्य आपराधिक घटनामा समेत वृद्धि भएको छ । तसर्थ सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध देश र जनताको हितमा रहेको छ । समाज भित्र फैलिँदै गएको विकृति, अपराधलाई नियन्त्रण गर्न र समग्रमा देशलाई एउटा ठूलो जोखिमबाट जोगाउन सरकारको यस निर्णयको विरोध गर्नुको कुनै कारण वा तुक नै छैन ।

(लेखक जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हुन् ।)

Back to top