×

वीरगञ्ज । रौतहटस्थित एक निजी क्लिनिकमा बिना सुविधा पाठेघरको शल्यक्रिया गर्दा बिरामी महिलाको मृत्यु भएको छ ।

रौतहटको गौर–चन्द्रपुर सडक खण्डअन्तर्गत गरुडा नगरपालिका – ८ बिर्तास्थित इमर्जेन्सी जनसेवा हस्पिटलमा जथाभाबी पाठेघरको शल्यक्रिया गर्दा चन्द्रपुर नगरपालिका–७ बनबोहरीकी नुर्जहान खातुनको मृत्यु भएको हो ।

पेट दुख्ने लगायतको समस्या हुँदा खातुनलाई इमर्जेन्सी अस्पतालमा चेकजाँच गराउँदा चिकित्सकले पाठेघरको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही अनुसार सोमबार खातुनलाई इमर्जेन्सी हस्पिटलमा शल्यक्रियाका लागि भर्ना पनि गरियो । यद्यपि शल्यक्रिया पश्चात् अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

अत्यधिक रक्तस्रावका कारण अचेत भएकी खातुनलाई चिकित्सकको सुझाव अनुसार नै थप उपचारका लागि एम्बुलेन्समा राखेर वीरगञ्जस्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो । मेट्रो सिटीमा भने चिकित्सकले खातुनको अस्पताल पुग्नु भन्दा पहिला नै मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी रौतहटका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दामोदर केसीले बताए ।

बिरामीको मृत्युपछि मङ्गलवार दिउँसो पीडित परिवार र स्थानीयले हस्पिटलका सञ्चालक यादव र उपचारमा संलग्न डाक्टरलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै हस्पिटल अगाडि विरोध प्रदर्शन समेत गरेका छन् । यद्यपि, डाक्टर र हस्पिटलका सञ्चालक गरुडा–८ का राजेन्द्र यादव फरार रहेको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले पनि घटनाको पुष्टि गर्दै मृतक महिला खातुनको शव फोरेन्सिक परीक्षणका लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको बताए । मृतक महिलाको शव हाल पोस्टमार्टम लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । खनालले शल्यक्रियामा संलग्न डाक्टर तथा हस्पिटल सञ्चालक यादवको खोजी भइरहेको पनि जानकारी दिए ।

Back to top