×

वीरगञ्ज । वीरगञ्जमा शनिवार भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न क्रममा नगरप्रमुख राजेशमान सिंहको हात भाँचिएको छ ।

नेपाल प्रहरी र सामुदायिक सेवा केन्द्रहरू मिलेर बनेको टिमका भएको एक दिने मैत्रीपूर्ण प्रतियोगितामा सामुदायिक सेवा केन्द्रको तर्फबाट ब्याटिङ गर्ने क्रममा लडेर प्रमुख सिंहको हात भाँचिएको हो ।

सिंहको सचिवालयका अनुसार उनको दाहिने हात भाँचिएको हो । हात भाँचिएपछि उनको यहाँस्थित नारायणी अस्पतालमा उपचार भएको थियो ।

यद्यपि, मधुमेह र उच्च रक्तचाँपबाट समेत ग्रसित रहेका सिंहको उपचार वीरगञ्जमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लागिएको छ । काठमाडौँमा उनको शल्यक्रिया हुने सचिवालयले जनाएको छ ।

हात भाँचिए पनि प्रमुख सिंहले वीरगञ्जमा आयोजित रक्तदान र प्रथम वीरगञ्ज गोल्डकपको उद्घाटन समारोहमा समेत सहभागिता जनाएका थिए ।

यता समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भएको प्रतियोगितामा नेपाल प्रहरीलाई हराउँदै सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी भएको थियो ।

पहिलो ब्याटिङ गरेर १५ ओभरमा ७ विकेट गुमाउँदै ६७ रन बनाएको नेपाल प्रहरीलाई सामुदायिक सेवा केन्द्रले १० ओभरमा ४ विकेट गुमाएर ६८ रन बनाउँदै हराएको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

Back to top