×

फाईल फोटो

वीरगञ्ज । देशभरि घरजग्गा कारोबारमा पछिल्लो समय सुधारका सङ्केत देखिन थालेको छ । अघिल्लो वर्षको असोजको तुलनामा गत असोजमा पाँच गुनाभन्दा बढीले घरजग्गा कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ।

अघिल्लो वर्षको असोजमा कुल १९ हजार १७८ कित्ताकाट भएकोमा गत असोजमा एक लाख ६ हजार ३४९ कित्ताकाट भएको विभागले जनाएको छ। कारोबारमा देखिएको पछिल्लो वृद्धिले घरजग्गा व्यवसायीहरू उत्साहित देखिएका छन्।

घरजग्गा कारोबारमा देखिएको वृद्धिको क्रम आउँदा महिनामा अझ उकालो लाग्न सक्ने उनीहरूले ठानेका छन्।पछिल्लो तीन महिना अर्थात्‌ साउन, भदौ र असोजको कारोबारसम्बन्धी विभागको तथ्याङ्क हेर्दा क्रमिक रूपमा बढ्दै गएको देखिन्छ।

विभागका सूचना अधिकारी विष्णुकुमार महतका अनुसार गत साउनमा २९१ कित्ताबाट ७७ हजार ६८ कित्ताकाट भएको तथ्याङ्क छ। गत भदौमा ३६ हजार २८० कित्ताबाट ८० हजार ३१७ कित्ताकाट भएको छ भने असोजमा ४७ हजार ३९८ कित्ताबाट एक लाख ६ हजार ३४९ कित्ताकाट भएको विभागले जनाएको छ।

घरजग्गा कारोबार सोचेअनुरूप अझै पनि नबढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्याल बताउँछन्। कित्ताकाट खुल्नुभन्दा अघिको तुलनामा घरजग्गा कारोबारमा १०(२० प्रतिशतले वृद्धि भएको देखिन्छ, उनले भने। तुलनात्मक रूपमा पहिलाको भन्दा सुधार हुन थालेको भन्न सकिन्छ। त्यसबाट हुने राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ, अर्यालले थपे।

सरकारले कित्ताकाट खुला गर्नुका सबै उद्देश्य पूरा नभए पनि ती उद्देश्य पूरा हुने क्रम शुरू भएको उनको दाबी छ।कित्ताकाट रोक्का गरिएको अवधिको तुलनामा अहिले घरजग्जा कारोबारमा क्रमिक सुधारका सङ्केत देखिन थालेका नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनी बताउँछन्।

असोजमा कारोबार बढेको देखिए पनि चाडबाडका कारण कार्तिकमा केही कम देखिएको छ। मङ्सिरमा फेरि उकालो लाग्ने देखिन्छ, उनले भने। पछिल्लो समय घरजग्गा कारोबार बढ्नुका कम्तीमा तीनवटा कारण देख्छन् लोहनी।

एउटा त बैंकहरूको ब्याजदर केही सरल भएको छ। अर्को भनेको अर्थतन्त्रका कतिपय आन्तरिक सूचक सकारात्मक देखिएका छन्। उदाहरणका लागि केही महिनाअघिको जस्तो बैंकहरूमा तरलता अभावमा सुधार भएको छ, लोहनीले भने।

कारोबार बढ्नुको तेस्रो कारणबारे उनले अगाडि भने, कित्ताकाट खुलेपछि अब चाहिँ कारोबार बढ्छ भनेर खरिद विक्री गर्नेहरूमा पनि आत्मविश्वास पलाएको देखिन्छ। अर्थतन्त्रलाई चलायमान बनाउन र एकाघरका दाजुभाइका अंशबन्डामा देखिएका जटिलता फुकाउन भन्दै गत साउन अन्त्यतिर सरकारले जग्गा कित्ताकाटमा लगाउँदै आएको रोक्का फुकुवा गरेको थियो।

त्यसअघि जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खोलिने अधिकारीहरूले बताउँदै आएका थिए। तर साउन ३० गते मन्त्रिपरिषद्‌को बैठकले कित्ताकाट, नामसारीसहित जग्गासम्बन्धी रोकिएका सबै काम फुकाउने गरी भू उपयोग नियमावली पारित गर्‍यो।

अघिल्लो वर्षको जेठमा सरकारले भू उपयोगसम्बन्धी नियमावली ल्याएर स्थानीय तहलाई जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट खोल्न अनुमति दिएको थियो। त्यस बेला स्थानीय तहलाई २०७९ सालको मङ्सिरसम्म जग्गा वर्गीकरण गरिसक्न भनिएको थियो।

विगतमा आवासीय जग्गाको हकमा १३० वर्गमिटरसम्मको जग्गा मात्र कित्ताकाट हुन सक्ने व्यवस्था गरिएकोमा पछिल्लो नियमावलीमा त्यो सीमालाई घटाएर ८० वर्गमिटरमा झारिएको छ। कित्ताकाट रोक्का गरिएको अवधिमा बैंकबाट प्रवाह हुने कर्जामा पनि कडाइ गरिएपछि घरजग्गा कारोबार शिथिल भएको व्यवसायीहरूले गुनासो गर्दै आएका थिए।

Back to top