×

वीरगञ्ज । वीरगञ्जका विभिन्न स्थानमा छायांकन गरिएको र वीरगञ्जकै निर्देशक र मुख्य कलाकारले अभिनय गरेको वेब सिरिज ‘मिस स्कार्लेट’ को ट्रेलर सार्बजनिक भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको ठूलो लगानीको सिरिज मिस स्कार्लेटको एकेडेमीले आफ्नै युट्युब च्यानलमार्फत सार्बजनिक गरेको हो ।

सिरिजका प्रमुख पात्रद्वय कुल श्रेष्ठ (कमल) र गीत बिष्ट हुन् भने आलिशा बास्तोला, कपिल रसाईली, सुमित्रा अधिकारी, सबी थापा, रोज खत्री, दिलिप नेपाल लगायतको पनि अभिनय गरेका छन् ।

सिरिज सस्पेन्स र थ्रिलरसँगै प्रेम र रोमान्सको मिश्रण रहेको सिरिजका लेखक तथा निर्देशक बलिराम चौहानले बताए ।  

कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गर्न आयोजना गरेको कार्यक्रमकै अवसरमा ट्रेलर सार्बजनिक गरिएको हो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा वीरगञ्जका निर्देशक बलिराम चौहानसँगै वीरगञ्जकै मुख्य कलाकार कुल श्रेष्ठ कमल को कामले पनि काठमाण्डौमा प्रसंशा बटुल्यो । 

May be an image of 3 people, people smiling and text

पूर्व प्रधानमन्त्री ओलीदेखि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक तथा बरिष्ठ हाँस्य कलाकार दिपक राज गिरी लगायतका कलाकारले पनि बलिराम, कुल लगायतको कामको तारिफ गरेका थिए । 

मिस स्कार्लेट को छायांकन वीरगञ्जको घण्टाघर, ज्ञानदा एकेडेमी, क्लार्क रिसोर्ट लगायतका विभिन्न स्थानमा गरिएको छ । वीरगञ्जलाई सिरिजमार्फत देश तथा विदेशमा चिनाउने उद्देश्यले पनि यो काम गरिएको निर्देशक चौहानको भनाई छ । 

वेब सिरिजमा आफुले गरेको काम दर्शकले रुचाउनेमा सिरिजका प्रमुख पात्र कुल श्रेष्ठ कमल विश्वस्त छन् । आफुले आफ्नो चरित्र शतप्रतिशत निभाउने प्रयास गरेको बताउँदै उनले समग्र टिमको मेहनतको कदर हुने विश्वास व्यक्त गरेका छन् । 

May be an image of 4 people, dais and text

कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘कान्तिपुर सिनेमाज’मा मासिक २९९ रुपैयाँ तिरेर सबै सामाग्री हेर्न सकिने जानकारी दिए । पुरीले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । ‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिजहरू हेर्न पाउनुहुनेछ ।’ उनले अगाडि भने–‘संसारभर यस्ता खालका ओटीटी प्लेटफर्महरू छन् । जुन आज हलको विकल्पका रूपमा स्थापित भइसकेका छन् ।’

उनले, यस्तै प्रकारको प्लेटफर्मको विकास आफूहरुले गर्न चाहेको पनि बताए । कान्तिपुर सिनेमाज को मोवाइल एप्लिकेशन आइसकेको हुँदा डाउनलोड गरेर सब्स्क्रिप्सन गर्न सकिने उनको भनाई । 

Back to top