×

वीरगञ्ज । घुम्टो ओढेर घरायसी कामकाजमा मात्रै सीमित हुने सोचलाई तोड्दै मधेसका महिला अचेल खुलेरै आफ्नो रुचि अनुसारको पेसा व्यवसायमा आबद्ध हुन थालेका छन् । गाउँ देहात बस्तीमा अझै यो प्रचलन जीवितै रहे पनि सहर र शिक्षित जमातमा भने हराउँदै गएको छ । जबसम्म मधेसका महिला शिक्षित हुँदैनन् तबसम्म मधेस समृद्ध बन्दैन भन्ने बुझाई छ वीरगञ्ज महानगरपालिका – १३ राधेमाई निवासी निता पटेलको । दिदी निताकै भनाइमा समर्थन जनाउँदै बहिनी निशा भन्छिन्, ‘अहिले समय फेरिएको छ, शिक्षाले सोचलाई फराकिलो बनाउँछ ।’ 

निता र निशा दिदी बहिनी हुन् । निताले एभरेस्ट कलेज काठमाडौँबाट वाणिज्य सङ्कायतर्फ बिबिए– बिआई सम्मको अध्ययन सकाइन् भने नीशाले खाद्य प्रविधि (फुड टेक्नोलोजी) मा बिटेक गरेकी छिन् । अध्ययन सकेर काठमाडौँबाट आफ्नै जन्मथलो वीरगञ्ज फर्किएर व्यवसाय गर्ने दिदी बहिनीको सपनाले अहिले मुर्त रूप लिएको छ । 

पढेपछि कुनै कम्पनीमा जागिर नै गर्नुपर्छ, सरकारी जागिर खानुपर्छ भन्ने मानसिकता हाबी भइरहेको अवस्थामा निता र निशा भने फरक सोचका साथ आए । अहिले उनीहरूले अत्यन्तै न्यून लगानीमा वीरगञ्जको लोहारपट्टि सडकमा क्याफे सञ्चालन गरिरहेका छन् । जसको नाम हो, ‘क्याफे बाई सिस्टर्स’ । दुवै दिदी बहिनी भान्सामा पकाउँछन् र दुवैले मिलेर आफै ग्राहकलाई सेवा दिन्छन् । 

बुबा जवाहर प्रसाद कुर्मी र आमा प्रभावती देवीका ५ सन्तान मध्ये निशा र निता पनि हुन् । दिदी निता अलि बढी भान्सामा खट्छिन् भने बहिनी निशा काउन्टरमा र ग्राहकले अर्डर गरेको खानेकुरा पुर्‍याउनमा व्यस्त हुन्छिन् । खाद्य प्रविधि नै अध्ययन गरेको हुँदा कुन परिकारमा के के र कति कति मात्रामा मिसाउँदा ग्राहकको स्वाद र स्वास्थ्य राम्रो हुन्छ भन्ने कुराको ज्ञान निशालाई छ भने निताको अनुभव छ । 

‘हाम्रो समाजले कामको आधारमा मान्छेको मूल्याङ्कन गर्छ, जुन एकदमै गलत हो’ निता थप्छिन्, ‘खासमा काम भनेको कुनै पनि सानो ठूलो हुँदैन । अझ हाम्रो समुदाय साँघुरो सोचले ग्रसित छ ।’

क्याफे खोल्छौ भन्दा घर परिवारबाट साथ र सहयोग भए पनि आफन्त र छरछिमेकले नबुझ्दा केही असहज भएको निशा बताउँछिन् । उनले भनिन्, ‘बिटेक गरिसकेपछि कम्प्युटर चलाउने र कुर्सीमा बस्ने काम मात्रै हुन्छ भन्ने हाम्रो समाजको मानसिकता छ । त्यसमा हामी क्याफेमा सेवाग्राहीलाई सेवा गर्दा र क्याफेको भान्सामा पकाउँदा हेर्ने दृष्टिकोण फरक छ । जसलाई बदल्न आवश्यक छ ।’ 

सस्तो र स्वस्थ खाजाको परिकारका लागि क्याफे बाई सिस्टर्स उपयुक्त स्थान भएको सेवाग्राही आरजू देवकोटा बताउँछिन् । सञ्चारकर्मीसमेत रहेकी आरजूका अनुसार हाम्रै समाजका दुई दिदी बहिनीले क्याफे सञ्चालन गर्न आँट गर्नु नै ठूलो कुरा हो । उनीहरूलाई प्रोत्साहन गरेर अरू मधेसका महिलालाई पनि आत्मनिर्भर हुन प्रेरित गर्नुपर्ने उनको धारणा छ । क्याफेमा २० रुपैयाँदेखि ३ सय रुपैयाँसम्मका विभिन्न परिकारहरू उपलब्ध छन् । चिया र मोमो को अधिकांश ग्राहकले तारिफ गर्छन् । अहिले तत्कालका लागि सानो क्षेत्रफलमा सञ्चलन गरिएको क्याफे निकट भविष्यमै बिस्तार गरेर सेवा थप्ने उनीहरूको सोच छ । 


 

Back to top