×

वीरगञ्ज । झमक्क साँझ परेको थियो । जयसुल खातुन निदाउने तर्खरमा थिइन् । ढोका ढकढक्याएको आवाजले लाग्नै थालेको निद्रा बिथोलियो । कुकुरले ढोकालाई धक्का दिएको आँकलन गरेर उनी मौन रहिन् । तर ढोका ढकढक गरेको आवाज आउने क्रम रोकिएन । बाहिरबाट ४/५ जनाको हल्ला आएपछि उनी सशंकित भइन् ।

‘हम आइल बानी केवारी खोल न’, जयसुलका श्रीमान जाकिर अंसारी बोले, ‘२ किलो मछरी ल्याइल बानी, एक किलो तहराला, एक किलो अपनाला ।’ माछा ल्याएर आएको कुराले उनी पक्का भइन, आज केही न केही चाल चल्दैछ भनेर । दाल, तरकारी समेत नदिएर चामल मात्रै दिने मान्छेले माछा ल्याएको छु भन्दा उनलाई शंका लाग्नु स्वभाविक थियो । करिब १ महिना माडसँग भात र ३ महिना नुनसँग भात खाएको नमिठो विगत उनको मस्तिष्कमा झलझली आयो । 

पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी जयसुलले २ वर्षकै उमेरमा छोरा गुमाइन् । बिरामी भएर छोराले संसार छाडेसँगै जयसुलले घर छोड्नुपर्ने यात्राको आरम्भ भयो । छोरा गुमाएको केही समय नबित्दै छोरीले पनि उनलाई सँधैका लागि छोेडेर गइन् । त्यसपछि सानी छोरी नै जयसुलको बाँच्ने आधार बनीन् । छोरा नजन्माएको भन्दै श्रीमानको गाली र कुटपिटसँगै उनी सासु, र सौता (श्रीमानकी अर्की श्रीमती) बाट पनि अपहेलीत हुनुपर्ने अवस्था आयो । 

जयसुलले खानाको नाममा भात मात्रै पाउँथिन् । करिब ३ महिना उनले तरकारी, दाल, बिनाको भात मात्रै खाएर बिताइन् । गाउँमा कसैको रोपाई गर्न जाँदा अरुले पैँसा लिन्थे भने उनले नुन माग्थिन् । रोपाई गरेरै जम्मा गरेको नुनसँग भात खाएपछि उनले बल्ल शरिरमा शक्ति आएको महसुस गरेकी थिइन् । 

ढोका फोड्ने गरी जोडले ढकढक गरेको आवाजले उनी झसँग भइन् । नखोले पछि फोडेर भएपनि भित्र आइहाल्छ भनेर उनी ढोका खोल्ने निक्र्याैलमा पुगिन् । ढोका खोल्ने बित्तिकै उनले श्रीमानसँगै अन्य ५ जनालाई पनि देखिन् । दुई जनाले उनका दुई वटा हात समाते, एक जनाले मुखमा कपडा बाँधिदिए, उनले बोल्न र कराउन नसकुन् भनेर । अरु दुई जनाले उनका खुट्टा समाए । अनि एकजना बोले, ‘कथि देखतारु डाल ।’ त्यसपछि अर्काे एक जनाले उनको यौनाङ्गभित्र लाठी पसाइदिए । यो क्षण सुनाउँदै गर्दा जयसुल भक्कानिइन् ।

जयसुलका अनुसार जाकिरकी तेस्रो श्रीमती हजरा खातुन, मामा पर्ने धोमन मियाँ, धोमनकी श्रीमती आइसवानी खातुन, छिमेकी महादेव मिया, महादेवकी श्रीमती जोहोरा खातुन, र श्रीमान जाकिर अंसारीले मिलेर आफूमाथि कुटपिट गरेका हुन् । लाठीको पिडाले यौनिबाट अत्यधिक रक्तस्राब भएपछि उनी अचेत अवस्थामा पुगिन् । होश खुल्दा भर्खरै हुर्किन लागेका गहुँको बारीमा उनले आफुलाई पाइन् । मर्नासन्न हुने गरी कुटपिट गरिएको शरिरको दुखाई अघि उनलाई पुष माघको कठ्याङ्ग्रिदो चिसोले छोएन । 

छोरीको सुन्दर भविष्य बनाउने आशमा पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ निवासी ४८ वर्षीय जयसुल खातुन दुःखसँग जुहारी खेल्दैछिन् । हुन त यसअघि भोगेको दुःखको अघि अहिले गरीरहेको दुःख उनलाई दुःख जस्तो पनि लाग्दैन । मृत्युको मुखमा पुगेर पनि फर्किएकी जयसुल भन्छिन्, ‘अहिले त म दोस्रो जीवन बाँचीरहेको महसुस गरीरहेको छु । विगतमा जस्तो दुःख भोगेपनि मेरो छोरीको मुख हेरेपछि मलाई बाँच्ने र मेहनत गर्ने ऊर्जा पलाउँछ ।’ 

छोरा जन्माउन नसकेको भन्दै श्रीमानको कुटपिट र अत्याचारले असह्य भएपछि उनले आफ्नो अंश मागेर छुट्टै बस्ने निचोड निकालिन् । जसका लागि पनि उनले निकै हण्डर खानु परीरहेको छ ।  जयसुलले दुःखसुख गरेर छोरीलाई गाउँकै एक बोर्डिङ् स्कुलमा पढाएकी थिइन् । तर छोरी पढेर जान्ने बुझ्ने भएपछि आफ्नो अंश माग्छे भन्ने डरले श्रीमानले नै स्कुलबाट निकालेर भर्ना गर्न नदिएको जयसुलको भनाई छ । उनले भनीन्, ‘बोर्डिङ्बाट नाम हटाइदिएपछि सरकारी स्कुलमै भएपनि पढ्ने छोरीको रहरमा बुबा बाधक बनेर भर्ना गर्न दिइएन ।’ धोबिनी गाउँपालिका वडा नम्बर ५ स्थित श्री अजिज मियाँ नि.मा.वि.मा १५ वर्षीय छोरी नाजिश खातुन कक्षा ७ मा अध्ययनरत थिइन् । 

वीरगञ्जस्थित नारायणी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले उनलाई उपचारको प्रबन्धसँगै घरमा उद्धार गर्ने प्रयास पनि ग-यो । ओसिएमसीकी ईन्चार्ज हेमा थापा, जिल्ला प्रहरी कार्यालय अन्र्तगतको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक मनिषा लौदारी लगायतको टोली उनलाई महिना दिनसम्म पुग्ने खाद्यान्न सामग्रीसहित धोबीनी जाँदा त्याहाँका स्थानीयलाई उचालेर प्रहरीकै गाडीमाथि पनि ढंगा मुढा प्रहार गरिएको थियो । यति मात्रै नभएर जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा पटकपटक पञ्चायती पनि भयो । पञ्चायतीका क्रममा श्रीमान जाकिर  नरम स्वभावमा देखिएपनि घर फर्किदा कडा हुने स्वभाव नबदलिएपछि जयसुल सहेर नबस्ने निर्णयमा पुगिन् । पर्सा जिल्ला अदालतमा अंशवण्डा, जालसाझीमा श्रीमान जाकिर अंसारीविरुद्ध उनले मुद्धा दायर गरेपनि रकम अभाव र कसैको साथ नपाउँदा यत्तिकै अल्झिएको जयसुलको दुखेसो छ । अझै पनि उनी न्यायको पर्खाईमा छिन् ।

पर्सामा दुई महिनामा घरेलु हिंसाको सय वटा उजुरी 
जयसुल प्रतिनीधि पात्र मात्र हुन् । चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा मात्रै जिल्ला प्रहरी कार्यालय पर्साको महिला सेलमा घरेलु हिंसा सम्बन्धीत १ सय वटा उजुरी दर्ता भएका छन् । श्रावणमा ६४ र भदौमा ३६ वटा उजुरी आएकोमा ७१ वटा उजुरी फर्छयौट भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए । उनकाअनुसार यही असोज महिनाको २० गतेसम्म १६ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये १२ वटाको फर्छयौट भइसकेको जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

 

घरेलु हिंसाको तुलनामा सामाजिक हिंसाका घटना अत्यधिक हुने गरेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक मनिषा लौदारी बताउँछिन् । उनकाअनुसार चालु आर्थिक वर्षको ३ महिना पनि नपुग्दै ५ सय ४१ वटा सामाजिक हिंसाका उजुरी महिला सेलमा दर्ता भएका छन् । श्रावणमा २ सय ३९ वटा, भदौमा १ सय ९९ वटा र असोजको २० गतेसम्म १ सय ३ वटा निवेदन परेको उनले बताइन् । जसमध्ये ४ सय ३१ वटा फर्छयौँट भइसकेका छन् भने १ सय १० वटा फर्छयौटको प्रक्रियामा छन् । 

गत आर्थिक वर्ष २०७९/८० मा महिला सेलमा घरेलु हिंसा सम्बन्धी ५ सय २७ उजुरी परेका थिए । जसमध्ये ५ सय ३ वटा उजुरी फर्छयौट भइसकेका छन् । महिला झै–झगडा, कुटपिट तथा अन्य गरेर सामाजिक हिंसा सम्बन्धी १ हजार ५ सय ९४ उजुरी परेको तथ्यांकमा उल्लेख छ । जसमध्ये १ हजार ४ सय ३७ उजुरी टुंगीसके । 

लैंगिक हिंसा सबभन्दा बढी मधेश प्रदेशमा  
लैंगिक हिंसा सम्बन्धी नेपाल प्रहरीमा पर्ने उजुरीको संख्या पनि कम छैन । आर्थिक वर्ष २०७८/७९ मा घरेलु हिंसाका सबैभन्दा बढी मुद्दा मधेश प्रदेशमै परेका छन् । ४ हजार ४ सय ७३ वटा घरेलु हिंसाका मुद्दा मधेश प्रदेशमा दर्ता हुँदा काठमाण्डौ उपत्यकामा ३ हजार ५८ उजुरी दर्ता भएका छन् । घरेलु हिंसाका मात्रै देशैभर १७ हजार उजुरी दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । 

 

जसमध्ये कोशी प्रदेशमा १ हजार ३ सय ३३, उपत्यका बाहेक बागमती प्रदेशमा १ हजार ५ सय ६८, गण्डकी प्रदेशमा १ हजार ४ सय ९, लुम्बिनी प्रदेशमा २ हजार ८ सय ६०, कर्णालीमा ९ सय ८३, सुदुरपश्चिममा १ हजार ३ सय १६ र काठमाण्डौ उपत्यकामा ३ हजार ५८ उजुरी दर्ता भएका छन् । 

लैंगिक हिंसाका अपराधमा ७८.८२ प्रतिशत हिस्सा घरेलु हिंसाले ओगटेको उनले बताए । जुन मधेशमा सबैभन्दा धेरै र सबैभन्दा कम कर्णाली प्रदेशमा देखिएका छन् । लैंगिक तथा घरेलु वा यौनजन्य हिंसाका घटनाहरुमा ८३.१५ प्रतिशत अभियुक्तहरु चिनजानकै भएको पाइएको पनि उनले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । 

Back to top