×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरलाई हरियाली बनाउन चोकचोक र खाली स्थानमा वृक्षारोपण गर्न सबै सँग आग्रह गरेका छन् ।

‘सफा वीरगञ्ज, स्वच्छ वीरगञ्ज’ बनाउने अभियानमा लागि परेको भन्दै उनले महानगरले समेत अहिले वृक्ष रोपणलाई तीव्रता दिएको र यसमा सबै क्षेत्रले साथ र सहयोग गर्नु पर्नेमा जोड दिए ।

एलाइड युथ सोसाइटी र पहिलो पाइला नेपालको संयुक्त आयोजनामा वीरगञ्जको रजतजयन्ती चोकमा शनिवार आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी हुँदै उनले युवाहरू जस्तै सबै क्षेत्रको साथ भए वीरगञ्जलाई वैभव बनाउन समय नलाग्ने बताए ।

कार्यक्रममा मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंह, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, एलाइड युथ सोसाइटीका अध्यक्ष ओमकुमार झा, पहिलो पाइला नेपालका उपाध्यक्ष राज साहलगायतको उपस्थिति रहेको थियो ।

Back to top