×

वीरगञ्ज । सर्लाही सदरमुकाम मलङ्गवामा प्रहरीको कडा सुरक्षाका बिच शुक्रवार साँझ गणेश पूजाको मूर्ति विसर्जन गरिएको छ । 

प्रहरीको बाक्लो उपस्थितिमा शिव सागर चोक नजिकको पोखरीमा सबै स्थानका मूर्ति एकैसाथ सेलाउने काम गरिएको हो । मूर्ति विसर्जन गर्न लैजाने क्रममा बिहीबार साँझ दुई समुदायबिच झडप भएपछि सदरमुकाम मलङ्गवामा कर्फ्यु आदेश जारी गर्नुपरेको थियो । 

बिहीबार राति १० बजेदेखि लगाइएको कर्फ्यु शनिवार पनि जारी नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्फ्यु हटाउने वा नहटाउने भन्नेबारेमा निर्णय गर्न शनिवार जिल्ला सुरक्षा समितिको बैठक बस्दै छ । 

सुरक्षा अवस्थाबारे समीक्षा पश्चात् कर्फ्युबारे निर्णय हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । निरन्तरको कर्फ्युका कारण मलङ्गवाको जनजीवन भने कष्टकर बन्दै गएको छ । 

हाटबजार बन्द छन् । सवारी साधन सञ्चालन हुन सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाका सेवा ठप्प जस्तै रहेकाले अत्यावश्यक काम परेका सेवाग्राही मारमा परेका छन् । झडप रोक्न बिहीबार साँझदेखि नै निरन्तर बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन् । जिल्लाभरका युनिटबाट थप मद्दत टोली मलङ्गवा उतारिएको छ । 

सुरक्षा स्रोतबाट प्राप्त जानकारी अनुसार ठुलो सङ्ख्यामा नेपाली सेना समेत तयारी हालतमा मलङ्गवामै लगेर राखिएको छ । सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र पञ्जियार थारुका अनुसार शुक्रवार साँझ ७ बजेभित्र मूर्ति विसर्जनपश्चात् मलङ्गवा बजार क्षेत्रको अवस्था सामान्य नै छ । 

थारुले शुक्रवार राति कुनै पनि किसिमका प्रदर्शन नभएको बताउनुभयो । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा ढुङ्गा मुढासहित प्रदर्शन उग्र बनेपछि प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस र केही राउन्ड हवाई फायर गरेको थियो । 

शुक्रवार नै बसेको सर्वपक्षीय/सर्वदलीय बैठकले शान्ति भङ्ग गर्ने कार्यमा संलग्न दोषीलाई पक्राउ गरी कानुन बमोजिमको कारबाही गर्ने निर्णय गरेको थियो ।  

Back to top