×

वीरगञ्ज । सामाजिक परिवर्तन केन्द्र काठमाडौँको आयोजनामा संवाद मार्फत द्वन्द्व रूपान्तरण विषयक तीन दिने तालिम सुरु भएको छ ।

तीन दिनसम्म चल्ने तालिममा कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाका जनप्रतिनिधि, राजनैतिक दलका नेता, सामाजिक अगुवा लगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधि २५ जनाको सहभागिता रहेको छ ।

तालिममा अपाङ्गता भएका व्यक्ति दुई र १४ जना महिलासहित २५ जना सहभागी रहेको आयोजक संस्थाले जनाएको छ ।

तालिमका प्रमुख प्रशिक्षक त्रिभुवन विश्वविद्यालयका शान्ति र द्वन्द्व विषयका प्रोफेसर चिरञ्जीवी भण्डारी, अधिवक्ता अजय कुमार स्वर्णकार तथा सामाजिक परिवर्तन केन्द्र काठमाडौँका अध्यक्ष पवन राय रहेका छन् ।

समाजमा भएका विभिन्न चरणका द्वन्द्वहरूको विश्लेषण, पहिचान, कारण कसरी पत्ता लगाउने तथा तिनीहरूलाई संवाद मार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य रहेको तालिममा स्थानीय स्तरमा द्वन्द्वलाई हेर्ने दृष्टिकोण तथा समाधानका तरिका बारे पनि गहन छलफल भएको कार्यक्रममा सहभागिता अपाङ्गता भएका महिला रञ्जिता साहले बताइन ।

त्यस्तै समुदायमा हुने गरेको सानातिना झैझगडा तथा नेपालको संविधानले सूचिकृत गरेको स्थानीय विवादका विषयमा न्यायिक समितिमार्फत धेरै द्वन्द्वहरू समाधान गर्न सकिन्छ तर पालिकाहरूमा न्यायिक समिति सक्रिय नहुँदा जनताहरूलाई न्यायको लागि जिल्लास्थित प्रहरी कार्यालय तथा अदालत जानु पर्ने बाध्यता रहेकोले पनि जिल्ला प्रहरी कार्यालय र अदालतमा धेरै भिड हुने गरेको कुरा तालिममा सहभागी सञ्जय मेहताले बताए ।

तालिमका सहभागीहरूले समाजमा विभिन्न किसिमका द्वन्द्वहरूमा सहजीकरण कलाको विकास गरी द्वन्द्वलाई हेर्ने दृष्टिकोण परिवर्तन भई समाजमा नै समाधान हुन सक्ने द्वन्द्व व्यवस्थित रूपमा समाधान गर्न वा छलफल, मेलमिलाप, वार्ता वा संवाद मार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सैद्धान्तिक तथा व्यवहारिक विषयमा ज्ञान वृद्धि गर्ने तथा सहजीकरण सिपमा निखार ल्याउने आशा रहेको सामाजिक परिवर्तन केन्द्र बाराका फिल्ड अफिसर बिक्की महतोले जनाए ।

Back to top