×

वीरगञ्ज । काठमाडौँको सडकमा हिँडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २५ गते काठमाडौँको कुलेश्वर आवास क्षेत्रमा सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रे घर भएकी अप्सरा श्रेष्ठको घाँटीमा लगाइरहेको २ तोला बराबरको सुन लुटिएको थियो ।

यस विषयमा अनुसन्धान गर्दै जाँदा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले समूहका चार जनालाई पक्राउ गर्न सफल भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका छन् ।

पक्राउ पर्नेमा लुटपाटमा संलग्न मोटरसाइकल चालक बागबजार घर भएका ४४ वर्षीय सुरज गुरुङ, मोटरसाइकल पछाडि बसेर सिक्री तान्ने पर्साको वीरगञ्ज महानगरपालिका – १७ निवासी ४८ वर्षीय अनवर हुसेन अन्सारी, सुन बिक्रीमा सहयोग गर्ने भारतको पश्चिम बङ्गाल भएका ४७ वर्षीय शक्ति भौमिक र सुन किन्ने भारतकै महाराष्ट्रका बासिन्दा ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।

उनीहरूलाई असोज १ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको रेग्मीले जानकारी दिए । उनीहरूलाई सुन तथा प्रमाण लाग्ने अन्य सामानहरूसहित थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

Back to top