×

काठमाडौँ । टिपटप समोसा पसललाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिकाको बजार अनुगमन समितिले अनुगमनका क्रममा अस्वच्छ र अखाद्य पदार्थ पाइएकाले २ लाख रुपैयाँ जरिवाना गराएको हो । महानगरको अनुगमन समितिले काठमाडौँ - १७ स्थित टिपटप समोसा पसलमा अखाद्य बस्तु आएको सूचना आएपछि अनुगमनमा गएको थियो ।

महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेकाअनुसार थहिटीमा रहेको टिपटप मिठाई पसलले अखाद्य वस्तु बेचेको सूचना आएपछि अनुगमन भएको र जरिवाना गरिएको बताए ।

उनले भने, ‘अखाद्य वस्तु बेच्ने कुरा महानगरसँग सम्बन्धित पनि भएकाले हामीले उहाँहरुलाई नियन्त्रणमा लिएर र अखाद्य वस्तुलाई पनि नियन्त्रणमा लिएका छौं । मान्छेलाई जनसेवा प्रहरीमा राखेका छौं ।’

पसलमा दुधबरी बिग्रिएको पाइएको, कर्मचारीको बोली बचन नराम्रो भएकोजस्ता समस्याहरू पाइएको पाण्डेले बताए । अबदेखि गुणस्तर कायम गर्ने, दुग्धजन्य वस्तुको तापक्रम कायम गर्ने र पसलबाट बनेर बजारमा गएका सामान फिर्ता ल्याएर नष्ट गर्ने गरि सहमति गरि पसललाई जरिवाना गराइएको पाण्डेले बताए ।

पसलले विगतमा पनि यस्तै गरेको भन्ने गुनासो आएको पाण्डेले बताए । सर्वसाधारणले पनि विगतमा पनि यस्तै गरेको बताएसँगै पसलका सञ्चालकले अबदेखि यस्तो नहुने बाचा गरेको र पुनः यस्तो भएमा हदैसम्मको कारबाही गरिने पाण्डले बताए । उनले भने, ‘एक चोटीलाई जरिवाना गरेर सुध्रिने मौका दिएका छौं ।’

हाललाई उक्त पसल र सञ्चालक दिपक राज थपलियालाई २ लाख रुपैयाँ जरिवाना तिराइएको पाण्डेले बताए ।

Back to top