×

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट एउटै नम्बर प्लेट भएको दुई वटा भारतीय नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) बाट जाँच पास भएर भित्रिएको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइसीपीबाट जाँच पास भएर निस्किएको ट्रकलाई वीरगञ्ज – १७ अलौँ गाउँ नजिकैबाट नियन्त्रणमा लिएको गणका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सङ्गम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले आइतबार नियन्त्रणमा लिइएको युपी७०एफटी २५२५ नम्बर भएको ट्रक मध्ये एउटामा मालसामान छ भने अर्को खाली रहेको डिएसपी श्रेष्ठले बताए ।

स्रोतका अनुसार दुवै ट्रक आइसीपी कर्मचारी र त्यहाँ कार्यरत सुरक्षा निकायको मिलेमतोमा पास भएको थियो । मालसामान भएको ट्रकबाट ४० टन मकै समेत बरामद भएको स्रोतको दाबी छ । यद्यपि प्रहरीले यसको पुष्टि गरिसकेको छैन । तस्करहरूले आइसीपी र सुरक्षाकर्मीहरूलाई मिलाएर एउटा ट्रकको भन्सार महसुस बुझाएर अर्कोमा पनि समान लोड गरेर नेपाल भित्र्याउने गरेका छन् । 

यसअघि पनि आइसीपीबाट एउटै नम्बर प्लेट भएको ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।

Back to top