×

वीरगञ्ज । राष्ट्रिय बाल दिवस वीरगञ्जस्थित लिटिल एन्जल्स स्कूलमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

बालबालिकाको दिनको रूपमा सरकारले मनाउँदै आएको दिवसका दिन लिटल एन्जल्स स्कूलले बाल विकासदेखि माथिल्लो तहसम्ममा अध्ययनरत विद्यार्थीहरूका लागि छुट्टाछुट्टै कार्यक्रम गरेर मनाएको हो ।

सो क्रममा विद्यालयले सांस्कृतिकदेखि विभिन्न विद्यार्थीको तह अनुसारको खेलकुद प्रतियोगितासमेत आयोजना गरेको थियो । सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले तराई, मधेस र देशमा बसोबास गर्ने अन्य धर्म, संस्कृति, भाषालगायतको प्रतिनिधित्व हुने गरी साङ्गीतिक एवम् नृत्य प्रस्तुत गरेका थिए ।

त्यस्तै बाल विकासका विद्यार्थीहरूका लागि विभिन्न खेलकुदको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सन्नी पाख्रिनले जानकारी दिए ।

बालबालिकाको अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ सरकारले मनाउँदै आएको बाल दिवसका दिन बालबालिकालाई उनीहरूको हिसाबले मनाउने प्रचलन लामो रहेको पाख्रिनको भनाई छ । यसरी बालबालिकाहरूको बहु आयामिक विकास सम्भव हुने उनको विश्वास छ ।

विद्यार्थीहरूले आफ्नो प्रतिभा देखाउनेदेखि विभिन्न प्रतियोगितामा समेत भाग लिँदा उनीहरूको आत्मविश्वास बढ्नुका साथै नेतृत्वलगायत अन्य क्षमताको समेत विकास हुने उनले बताए ।

Back to top