×

वीरगञ्ज । एसीसी एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलङ्का र भारत भिड्दै छन् ।  

श्रीलङ्काको प्रेमदासा स्टेडियममा आज दिउँसो सवा ३ बजे खेल सुरु हुनेछ । ६ पटकको विजेता श्रीलङ्का र ७ पटकको विजेता भारतबिच एसिया कपमा दोस्रो पटक खेल हुन लागेको हो । 

भारतले सुपर फोरमा श्रीलङ्कालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलङ्का १ सय ७२ रनमा अल आउट भएको थियो । श्रीलङ्काले उपाधि दाबेदार पाकिस्तानलाई २ विकेटले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

एसिया कपको फाइनलमा यी दुई टोलीबिच ८ पटक आमनेसामने भएका छन् । पाँच पटक भारतले श्रीलङ्कालाई हराएर उपाधि जितेको छ भने श्रीलङ्काले ३ पटक भारतलाई हराएर उपाधि आफ्नो पक्षमा पारेको छ । फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ ।

आज हुने खेलमा श्रीलङ्काका स्पिनर माहिस थिक्सानाले एसिया कपको फाइनल खेल गुमाउने भएका छन् । भारतविरुद्धको खेल उनले चोटका कारण गुमाउने भएका हुन् । २३ वर्षीय थिक्साना सुपर फोर अन्तर्गत पाकिस्तानसँगको खेलमा घाइते भएका थिए । उनको दाहिने ह्यामिस्ट्रङमा समस्या देखिएको थियो । स्क्यानपछि उनले खेल्न नसक्ने निश्चित भएको श्रीलङ्का क्रिकेट बोर्डले जानकारी दिएको छ ।

जारी प्रतियोगितामा थिक्सानाले ५ खेलमा ८ विकेट लिएका छन् । थिक्सानाको स्थानमा साहन आराचिगीले खेल्ने भएका छन् ।  त्यस्तै, भारतका अल राउन्डर अक्षर पटेल पनि चोटकै कारण श्रीलङ्कासँगको खेल गुमाउने भएका छन् । उनी शुक्रवार बङ्गलादेशविरुद्धको खेलमा घाइते भएका हुन् । अक्षर पटेलको स्थानमा वासिङटन सुन्दरलाई टिममा बोलाइएको छ ।

Back to top