×

वीरगञ्ज । चिनी उद्योगीले चिनीको भाउमा मनपरी गरिहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साले तस्करीको चिनी बरामद गर्नेक्रममा पनि ‘मनपरी गरेको’ आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले यही भदौ २९ गते १ टन चिनी बेवारिसे अवस्थामा बरामद भएको सूचना सञ्चारमाध्यमहरुमा पठायो । भन्सार छली चोरी पैठारी गरी ल्याएको ५० केजी तौलका २० बोरा चिनी बरामद भएको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी कुमार बिक्रम थापाले दिएका छन् ।

यति ठूलो परिमाणको चिनी बाटोमा अलपत्र अवस्थामा भेटिएको सूचनाले आशंका स्वाभाविक बनेको छ । सो चिनी प्रहरीले बेवारिसे भने पनि वीरगञ्ज आदर्शनगरका एक जना चकलेट उद्योगी शंकर मित्तलको भएको बुभिएको छ ।

प्रहरी स्रोतका अनुसार मित्तलको गोदामबाट सो परिमाणको चिनी बरामद भए पनि बेवारिसे बनाएर भन्सार चलान गरेको हो । २ नम्बरबाट आएको चिनी प्रयोग गरेका उद्योगीलाई जोगाउन प्रहरीले झूटो सूचना प्रवाह गरेको दाबी स्रोतको छ ।

बाटोमा १/२ बोरा भेटिएको भए बेवारिसे मान्न पनि सकिने, तर यति ठूलो परिमाणको चिनी बेवारिसे भेटिएको भनेर सूचना प्रवाह गर्नु हास्यास्पद भएको जानकारहरु बताउँछन् । प्रहरीले उद्योगीलाई जोगाउन सेटिङ गरेको दाबी स्रोतको छ ।

तर, व्यापारी मित्तलले सो चिनी आफ्नो नभएको दाबी गरिरहेका छन् । उनले आफ्नो घरको छेउछाउमा धेरै अरु व्यापारीले चिनीको तस्करीको काम गरिरहेको दाबी गर्दै सो चिनी आफ्नो नभएको बताए । उनले प्रहरीले समातेको सो परिमाणको चिनी आफ्नो छिमेकमा रहेका सुरेन्द्र भन्ने व्यक्तिको भएको दाबीसमेत गरेका छन् ।

Back to top