×

पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाह ।

वीरगञ्ज । पर्सा प्रहरीले गएको नौ महिनाको अन्तरालमा ४४ करोड ९३ लाख ६२ हजार २ सय १० रुपैयाँ बराबरको भन्सार छलीको मालसामान बरामद गरेको छ ।

२०७९ पुस मसान्त देखी २०८० भदौ मसान्तसम्ममा जिल्ला प्रहरी कार्यालय पर्साले एकीकृत जाँच प्रणाली (आइसीपी) हुँदै निस्केको बिल विजक भन्दा बढी माल वस्तु तथा खाद्यान्न समान बोकेको २७ वटा ट्रक तथा अन्य साना सवारी साधन नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा कारबाहीका लागि बुझाएको छ ।

यसै गरी वीरगञ्ज आसपासको खुला नाकाबाट भन्सार चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याउँदा बरामद समानहरू हार्डवेयर, मोटर पार्टस, गाडीको पार्टपुर्जा, लता कपडा, धान गहुँ, सौन्दर्य प्रसाधनका सामग्री तथा किराना खाद्यान्न वस्तु लगायतका सामग्रीहरू वीरगञ्ज भन्सार कार्यालयमा प्रहरीले बुझाएको छ ।

पर्साको खुला सीमा नाकाको फाइदा उठाएर हुने गरेको अवैध भन्सार चोरी पैठारीमा कडाइ गर्न कुनै कसर बाकी नराखेको पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले बताए । उनले मुख्य नाका तथा अन्य खुला सीमा नाकाहरूमा प्रहरीको बाक्लो उपस्थितिले गर्दा चोरी निकासीमा कडाइ हुने गरेको बताए । यद्यपि छेउ छाउबाट लुकीछिपी हुने गरेको चोरी निकासी पनि नियन्त्रण गर्न प्रहरीले प्रयास जारी राखेको उनले दाबी गरे । 

९ सय ४९ जना फरार प्रतिवादी पक्राउ

अदालतको फैसला कार्यान्वयन तर्फ पर्सा प्रहरीले नौ महिनामा ९ सय ४९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

जिल्ला अदालत पर्साबाट मुद्दा फैसला भई फरार रहँदै आएका प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी युनिटहरूको सहयोगमा पर्साको विभिन्न ठाउँबाट पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी शाहले जानकारी दिए । जसमा जघन्य तथा गम्भीर प्रकृतिका अपराध मुद्दा, किर्ते, जालसाजी, कुटपिट, जुवा, सार्वजनिक अपराध लगायत रहेका छन् । 

लागू औषध सहित ४ सय २८ पुरुष र १५ महिला पक्राउ 

प्रहरीका लागी अर्को चुनौती भनेको खुला सीमाको कारण हुने लागू औषधको ओसारपसार तथा बिक्री वितरण भएको एसपी शाहले बताए । नेपालबाट भारत तर्फ जाने गाँजा र चरेस तथा भारतबाट नेपाल तर्फ आउने नशालु टयाबलेट, कोरेक्स बोतल, एमपुललगायत नेपालमा प्रतिबन्धित लागू औषध सहित बर्सेनि सयौँ पक्राउ पर्ने गरेका छन् ।

यस अवधिमा प्रहरीले १२ सय ७३ किलो गाँजा र १ सय ३ किलो चरेस बरामद गरेको छ । हिरोइन ५८ ग्राम, फेनार्गन ८ हजार ९९ एम्पुल, डाईजी ल्याब १० हजार ८ सय ८१ एम्पुल, नुर्फीन १ हजार २ सय ४० एम्पुल, नाइट्रो भ्याट २८ हजार ७ सय ४३ गोटा र कोरेक्स ३ हजार ६ सय ६० बोतल बरामद गरेको छ भने उक्त कसुरमा ४ सय २८ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरी लागू औषध मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया बढाएको छ ।

युवा युवतीलाई लागू औषधको कुलतबाट बच्न बचाउन प्रहरीले शैक्षिक संस्थाहरूमा पनि पुगेर समय समयमा लागू औषध सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको एसपी शाहले बताए ।

वीरगञ्ज महानगर तथा अन्य क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन तथा गलत गतिविधिलाई नियन्त्रण गर्न सिसिटिभी क्यामरा मार्फत समेत निगरानी बढाइएको शाहले बताए ।

दिनहुँ हुने मोटरसाइकल चोरीका घटनामा कमी ल्याउन सिसिटिभी क्यामेरा मार्फत चोर समूहको पहिचान गरेर मोटरसाइकलसमेत फिर्ता ल्याउने काम भएको उनले बताए । ३३ वटा गिरोह बाट ४४ जना चोरलाई पक्राउ गरेर ३६ वटा मोटरसाइकल बरामद गरी सम्बन्धित धनीलाई बुझाइएको पर्सा प्रहरीको तथ्याङ्कले देखाउँछ ।

Back to top