×

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिकाका अध्यक्ष मदन चौहानले गोप्य रूपमा गाउँ परिषद्को बैठक गराएको अरू जनप्रतिनिधिहरूले आरोप लगाएका छन् ।

शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै गाउँपालिकाका जनप्रतिनिधिहरूले अध्यक्ष चौहान र उपाध्यक्ष मञ्जु देवी कुर्मीले वीरगञ्जको कुनै गोप्य स्थानमा गाउँ परिषद्को बैठक गराएको आरोप लगाएका हुन् । 

वीरगञ्जस्थित नेपाल पत्रकार महासङ्घ पर्साको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिकाका कार्यपालिका सदस्यहरूले गोप्य रूपमा गरिएको परिषद् बैठक आफूहरूलाई मान्य नहुने बताए । पत्रकार सम्मेलनमा ६ जना कार्यपालिका र एक जना वडा सदस्यको उपस्थिति थियो ।

गत असार महिना यता गाउँपालिकामा एक पटक पनि कार्यपालिका बैठक नभएको र आफूहरूले कुनै पनि निर्णयमा हस्ताक्षर समेत नगरेको उनीहरूले बताए । यद्यपि गाउँपालिका अध्यक्षले विभिन्न सञ्चारमाध्यम मार्फत असार महिना मै परिषद् सम्पन्न भइसकेको भनेर भ्रम फैलाइरहेको उनीहरूको कथन छ ।

उनीहरूले गोप्य रूपमा गरिएको परिषद् खारेज गरी सम्पूर्ण जनप्रतिनिधिको सहभागितामा अर्को गाउँ परिषद् गराउन माग समेत गरे । पत्रकार सम्मेलनमा गाउँपालिकाको कार्यपालिका सदस्यहरू दिनेश प्रसाद, नन्द किशोर साह कानु, रीना देवी, सोनावती देवी, शारदादेवी पासवान, पवन ज्योति कुमारी, वडा सदस्य मैना देवी तथा नेकपा एमालेका पारस कुर्मी, जङ्ग बहादुर कुर्मी र लोसपाका ललन प्रसाद कुर्मीको सहभागिता थियो ।

जनप्रतिनिधिहरूले लगाएको आरोपको विषयमा बुझ्न गाउँपालिका अध्यक्ष मदन चौहानलाई वेबसाइटमा उपलब्ध नम्बर ९८५५०७७७०५ मा पटक-पटक सम्पर्क गर्दा पनि उनले फोन उठाएनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनले भने गाउँ परिषद्का बहुमत सदस्यहरूको उपस्थितिमा परिषद्को बैठक सम्पन्न गरी नीति कार्यक्रम तथा बजेट ल्याइएको दाबी गरे । उनले भने, ‘२९ जना सदस्यमध्ये २२ जनाको उपस्थिति र सहमतिमा परिषद् असार महिना मै भएको हो । असन्तुष्ट जनप्रतिनिधिहरूले निराधार आरोप लगाउँदै हुनहुन्छ ।’

Back to top