×

वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरभित्र पहिलो पटक विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई उपमहानगरले स्तरोन्नति गर्दै विशेषज्ञ डाक्टरसहितको सेवा सुरु गरेको हो ।

उपमहानगरले माघ अन्तिम सातादेखि सञ्चालनमा ल्याएको जीतपुरसिमरा अस्पतालमा हाल विशेषज्ञ डाक्टर सहितको सेवा सुरु गरिएको हो । अस्पतालमा छाती, पेट, मधुमेह, थाईराईड रोग विशेषज्ञ डा. प्रकाश साहसहित आधा दर्जन डाक्टर कार्यरत छन् । साह जीतपुर सिमरा अस्पतालका ईन्चार्ज हुन् । उनको मातहतमा अहिले ४ जना डाक्टर, ५ जना नर्ससहित स्वास्थ्यकर्मीहरू कार्यरत छन् ।

विशेषज्ञ डाक्टर सहितको सेवा सुरु भएपछि अस्पताल आउने बिरामीको चाप पनि बढेको छ । यसअघि उपमहानगरभित्रका बासिन्दा उपचारका लागि चर्को शुल्क तिरेर वीरगञ्ज, हेटौँडा, भरतपुर, काठमाडौँसम्म पुग्ने गर्दथे ।

उपमहानगरले पहिलो चरणमा ओपिडी र इमर्जेन्सी सेवा सुरु गरेको छ भने दोस्रो चरणमा गर्भवती महिलालाई आकस्मिक शल्यक्रिया गर्नुपरेमा अन्य अस्पताल जानु नपर्ने गरी सेवा सुरु गर्ने र तेस्रो चरणमा आइसियु (सघन उपचार केन्द्र) र डाईलासिसको व्यवस्थापन गर्ने जनाएको छ ।

डा. साहका अनुसार दैनिक ६० देखि ७० जना बिरामी आउने गरेको यो अस्पतालमा विशेषज्ञसहितको सेवा सुरु गरेपछि दैनिक सरदर २५० भन्दा बढी आउन थालेका छन् ।

हाल दैनिक सय जनाको हाराहारीमा भाइरल ज्वरोका बिरामी आउने गरेको उनले बताए । विगतमा प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीहरूले सामान्य ज्वरो, रुघाखोकीको औषधिसमेत बाहिर शुल्क तिरेर किन्नुपर्थ्यो । तर स्तरोन्नति भएसँगै अहिले नेपाल सरकारबाट निःशुल्क पाइने ९८ प्रकारका औषधिबाहेक अन्य औषधि ५० प्रतिशत छुटमा आफ्नै फार्मेसीबाट उपलब्ध गराएको डा. साह बताउँछन् ।

अब गर्भवती महिला, एपेण्डिक्स लगायत तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्थाका लागि पनि व्यवस्थापनको काम गरिरहेको उनले बताए । उपमहानगरको मापदण्डभित्र एउटा १५ शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर यसअघि उपमहानगरभित्र अस्पताल नहुँदा बिरामीहरू स्वास्थ्य सेवा लिन अन्यत्र जाने गर्दथे ।

अस्पतालमा बिरामीको चाप बढेसँगै पार्किङ, खानेपानी, सरसफाइ, बिरामीलाई आराम गर्ने ठाउँको समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । विगतमा उपमहानगरभित्र सघन सहरी स्वास्थ्य कार्यालय डुमरवाना र प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा गरी २ जना डाक्टर मात्रै कार्यरत थिए तर अहिले उपमहानगरभित्र विशेषज्ञ सहित ७ जना डाक्टर कार्यरत छन् ।

उपमहानगरभित्रका २४ वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र र एउटा अस्पताल गरेर २५ वटा स्वास्थ्य संस्था छन् ।

उपमहानगर स्वास्थ्य शाखाका प्रमुख रवि भास्करले उपमहानगरभित्रका २४ वटा वडामा २५ वटा सरकारी स्वास्थ्य संस्थामा १२० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत रहेको बताएका छन् ।

उपमहानगरले पछिल्लो एक वर्षमा स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मारेको छ । अहिले सङ्घीय सरकारको करिब २० करोड ५५ लाख सशर्त बजेट र उपमहानगरको आन्तरिक स्रोतबाट सुविधा सम्पन्न अस्पताल निर्माणको काम भइरहेको छ । उपमहानगरले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्यतर्फ करिब ४ करोड बजेट विनियोजन गरेको छ ।

Back to top