×

वीरगञ्ज । नागरिक उड्डयन प्राधिकरणले बाराको सिमरा विमानस्थलको स्तरोन्नतिका लागि ५ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन–वे, ट्याक्सी–वे तथा एप्रोन (पार्किङ) निर्माण तथा विस्तारका लागि ९६ करोड ७३ लाख ३७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा सिमरा विमानस्थलको भागमा ५ करोड २४ लाख रुपैयाँ परेको हो ।

सिमरा विमानस्थलको ट्याक्सी–वे ओभरले र विमानस्थल सुरक्षाका लागि तार-बार गर्नका लागि पाँच करोड २४ लाख ४४ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्राधिकरणका अनुसार सिमरा विमानस्थलमा गत आर्थिक वर्ष २०७९/८० मा भने १० करोड १६ लाख ४१ हजार रुपैयाँ लागतमा सम्झौता भएको थियो ।

यस्तै विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि १० करोड, धनगढी विमानस्थलका लागि १ करोड २० लाख, मुगुको ताल्चा विमानस्थलका लागि ४ करोड ४४ लाख २४ हजार, इलामको फाल्गुननन्द सुकिलुम्बा विमानस्थलका लागि १ करोड र गोरखाको पालुङटार विमानस्थल सुदृढीकरणका लागि ४ करोड ४२ लाख ४७ हजार रुपैयाँ छुट्याइएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, महेन्द्रनगर विमानस्थलका लागि ९ करोड ७६ लाख ९९ हजार रुपैयाँ , चितवनको मेघौली विमानस्थलका लागि १ करोड ९ लाख रुपैयाँ, रूकुमको चौरजहारी विमानस्थलका लागि २२ करोड १२ लाख रुपैयाँ छुट्याइएको छ ।

Back to top