×

वीरगञ्ज । राष्ट्रिय एकता अभियानले नेपालका चिनियाँ राजदूत चेङ सोङको विरोधमा प्रदर्शन गरेको छ । चिनियाँ राजदूत चेन सोङले नेपाल र भारबिचको सम्बन्धमा कूटनीतिक मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै अभियानका सदस्यहरूले सोमबार काठमाडौँमा जुलुस नै निकालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरूले “चिनियाँ राजदूतलाई फिर्ता गर”, “चिनियाँ बिस्तारवाद मुर्दावाद”, “आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर”, “ऋण जाल चाहिँदैन, देश डुबाउन पाइँदैन” जस्ता नारा लगाएका थिए । अभियानका केन्द्रीय संयोजक विनय यादवको नेतृत्वमा बबरमहलबाट निकालिएको विरोध जुलुस नयाँ बानेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनमा सहभागी संविधानसभा सदस्य एवम् अभियानका वरिष्ठ नेता बिपी यादवले चीनले तिब्बत र ताइवानजस्तै नेपाललाई उपनिवेश बनाउन खोजेको आरोप लगाए । उनले नेपाल–चीन सम्बन्ध बढाउनु भन्दा पनि नेपाललाई कसरी ऋणको जालमा फसाउने भन्ने विषयमा चिनियाँ राजदूत बढी सक्रिय रहेको आरोप लगाए ।

चिनियाँ राजदूत सोङको अभिव्यक्ति नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप रहेको भन्दै यादवले यसले देशको राष्ट्रिय स्वाधीनतालाई खतरामा पारेको बताए । अभियानका महासचिव डा. प्रभात कुशवाहाले चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिको विरोध गर्दै नेपाल सरकारलाई चीनसँगको सम्बन्ध पुनरावलोकन गर्न आग्रह गरे ।

प्रदर्शनमा अभियानका महिला संयोजक रिता साह, मधेस सम्पर्क समिति काठमाडौँका संयोजक विनोद सिंह, सल्लाहकार जयनारायण यादव, अभियानका युवा नेता धिरज गिरी, राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पु यादव, अभियानीहरू सूजन यादव, गणेशकुमार सिंह, चन्द्र मोहन सिंह लगायत सहभागी थिए ।

Back to top