×

वीरगञ्ज । ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायताले सुन प्रकरणमा बाराका शिवकुमार सर्राफलाई  पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार सर्राफ बारा जिल्ला सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष पनि हुन् ।

त्रिभुवन विमानस्थलबाट बरामद सुन तस्करीमा उनको पनि संलग्नता भेटिएको पाइएपछि बिहीबार बेलुका पक्राउ गरिएको डिआइजी कडायताले जानकारी दिए ।

पक्राउ परेका सर्राफलाई सिआइबीको नियन्त्रणमा राखिएको र शुक्रवार म्याद थपका लागि अदालत उपस्थित गराइने उनले बताए । योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ ।

यसअघि यही प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरिएको थियो । त्यस्तै पूर्व उपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग पनि सोधपुछ गरिएको छ ।

गत साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

Back to top