×

वीरगञ्ज । बिमा कम्पनीबाट क्षतिपूर्ति दिलाउन फर्जी कागजपत्र तयार पारेर रकम भुक्तानी दिएको आरोपमा बारामा बिमा कम्पनीका एक जना कर्मचारी पक्राउ परेका छन् ।

एसियन लाइफ इन्स्युरेन्स  कम्पनी लिमिटेड शाखा कार्यालय कलैयाका प्रमुख जीतपुरसिमरा उपमहानगरपालिका – १२ फत्तेपुर निवासी सोनालाल सहनीलाई बारा प्रहरीले पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका – २६ नाथु देवानले बिमाबाट पैसा लिन आफूले हत्या गरेकी श्रीमती हजरा खातुनको दुर्घटनामा मृत्यु भएको भनेर कागजपत्र तयार पार्न र रकम भुक्तानीमा सहयोग गरेको आरोपमा प्रहरीले कम्पनीका शाखा प्रमुख सहनीलाई पक्राउ गरेको हो ।

घटनामा प्रहरीले यसअघि नै देवानसहितका ३ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले इन्स्युरेन्स कम्पनीका अभिकर्ता कलैया निवासी नासिर अन्सारी र अर्का एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका अर्का एक जनाको कर्मचारीको नाम भने अहिलेसम्म पनि प्रहरीले गोप्य नै राखेको छ ।

घटनामा हालसम्म बिमा कम्पनीको कलैया शाखा प्रमुख सहनीसहित ४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहेको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

श्रीमती हजराको सवारी दुर्घटनामा मृत्यु भएको भनी फर्जी कागजात बनाएर बिमा रकम दाबी गरेपछि कम्पनीले २०८० साल असारमा देवानलाई १ करोड २ लाख ५६ हजार ५७५ रुपैयाँ क्षतिपूर्ति भुक्तानी गरेको थियो । यद्यपि हजराको मृत्यु शङ्कास्पद भएको सूचना पाएपछि प्रहरीले देवानमाथि निगरानी बढाएको थियो । 

बिमा कम्पनीबाट रकम बुझिसकेपछि देवानले आफूले श्रीमतीको घाँटीमा सलले बेरेर हत्या गरेको र दुर्घटनाको फर्जी कागजपत्र तयार पारेर रकम बुझेको भनी आफन्त र छिमेकीहरूलाई सुनाउँदै हिँडेका थिए । सोही आधारमा प्रहरीले गत साउन अन्तिम साता उनलाई नियन्त्रणमा लिएको थियो । देवानले फर्जी विवरण तयार पार्न र रकम दाबी तथा भुक्तानीमा बिमा कम्पनीका कर्मचारीहरूले नै सहयोग गरेको बयान दिएका थिए ।

देवानले ४० वर्षीय पत्नी हजरा खातुनको नाममा एसियन लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड शाखा कलैयाबाट बिमा अभिकर्ता अन्सारीमार्फत २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बिमा बिमा गराएका थिए । गत वर्ष भदौमा हजाराको शङ्कास्पद मृत्यु भएको थियो ।

Back to top