×

वीरगञ्ज । अनुमति नै नलिई सञ्चालनमा रहेका तिन वटा विद्यालयमा वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ ।

विद्यालय सञ्चालनका लागि प्रक्रिया पूरा नगरी महानगरबाट आवश्यक अनुमति समेत नलिई सञ्चालन भइरहेको वीरगञ्ज – १३ स्थित ‘वीरगञ्ज स्कुल अफ ल’, वीरगञ्ज – ११ स्थित ‘इम्पिरियल कलेज’ र वीरगञ्ज – ५ स्थित ‘बिजी बी किड्स’ नामक स्कूलमा महानगरको टोलीले बुधवार सिलबन्दी गरेको हो ।

महानगरका मेयर राजेशमान सिंहको निर्देशनअनुसार विद्यालय नियमन गर्नका निमित्त गठित समितिले छड्के अनुगमन गर्दै सिलबन्दी गरेको छ । 

जनता समाजवादी पार्टी नेपाल (जसपा) को वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको संयोजकत्वमा गठित नियमन समितिको नेतृत्वमा विद्यालय पुगेको टोलीले कक्षा सञ्चालन लिएका अनुमति लगायतका कागजातहरू माग गरेको थियो । यद्यपि उनीहरूले आवश्यक कागजातहरू देखाउन सकेका थिएनन् ।

उनीहरूले अन्य विद्यालयले लिएको कक्षा ११ र १२ अनुमतिको आधारमा कक्षा सञ्चालन गरिरहेको पाएको अनुगमन समितिका संयोजक यादवले बताए । यादवका अनुसार वीरगञ्ज स्कुल अफ लले पिस जोन एकेडेमी र इम्पिरियल कलेजले ओएसीस विद्यालयले लिएको अनुमतिको आधारमा कक्षा ११ र १२ सञ्चालन गरिरहेको पाएको थियो । 

नियमानुसार अरू विद्यालयले लिएको अनुमतिको आधारमा नाम अथवा ठाउँ परिवर्तन गरेर विद्यालय सञ्चालन गर्ने मिल्दैन । त्यस्तै कक्षा ११ र १२ लाई कलेज भनेर सञ्चालन गर्ने अनुमति पनि विद्यालयहरूसँग नरहेको वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछानेले बताए ।

त्यस्तै बिजी बी किड्सले कुनै पनि अनुमति नै नलिएको पाएपछि सिलबन्दी गरिएको यादवले जानकारी दिए । सिलबन्दी गरिएका विद्यालयहरूलाई आवश्यक कागजात र इजाजतसहित महानगरमा उपस्थित हुन् निर्देशन दिइएको उनले बताए ।

अनुमतिको लागि आवश्यक कागजातहरू महानगरमा प्रस्तुत नगरेसम्म उनीहरूले पठनपाठन लगायतका विद्यालय सम्बन्धी कुनै पनि गतिविधि सञ्चालन गर्न पाउने छैनन् ।

अनुगमन टोलीमा महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, , महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवम् सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

Back to top