×

वीरगञ्ज । वीरगञ्जमा आगामी असार ५ गते निकालिने रथ यात्राको तयारी तिव्र रुपमा भइरहेको छ । माइस्थान मन्दिर पुर्ननिर्माण भएको ११ वर्ष पूरा भएको अवसरमा स्थानीय युवाहरुको आग्रहमा रथ यात्रा निकाल्न लागिएको हो । 

सनातन हिन्दु धर्मको संरक्षणका लागि र संस्कृतीको जगेर्नाका लागि वीरगञ्जमै पहिलो पटक रथ यात्रा निकाल्न लागिएको माइस्थान सञ्चालक समिति गहवामाई मन्दिरका अध्यक्ष दिनाप्रसाद गुप्ताले बताए । उनकाअनुसार अहिले बिहानदेखि बेलुकासम्म मन्दिर परिसरभित्रै रथ बनाउने काम धमाधम भइरहेको छ ।

करिब ११ लाखको लागतमा ८ जना मिस्त्रीहरुले रथ बनाउने काम गरीरहेको गुप्ताले बताए । लम्बाई र उचाई धेरै भएको हुँदा अब मन्दिर भित्र बनाउन सम्भव नभएकाले केही दिनभित्रै बाहिर ल्याएर काम गरिने उनको भनाई छ । 

ऐतिहासिक एवम् धार्मिक स्थलको रुपमा परिचित माइस्थानको गहवामाई मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउनका लागि रथयात्राले सघाउ पुग्ने उनको विश्वास छ । साथै उनले हरेक वर्ष मन्दिरको वार्षिकोत्सवका अवसरमा रथयात्रालाई निरन्तरता दिने योजना रहेको पनि बताए । 

यसअघि गीता जयन्तीका अवसरमा निस्किने रथ यात्रा बन्द भएकोमा दुख व्यक्त गर्दै उनले अब माइस्थान मन्दिरको वार्षिकोत्सवका अवसरमा निकालिने बताए । 

साथै उनले रथ यात्रालाई सफल बनाउनका लागि सहयोग गर्न पनि वीरगञ्जबासीलाई आग्रह गरेका छन् । धार्मिक कामहरु सबैको सहयोगमै हुने गरेको हुँदा धर्मप्रति आस्था एवम् विश्वास हुनेहरुकै सहयोगबाट रथयात्रा सफल हुने उनको विश्वास छ । 


 

 

Back to top