×

वीरगञ्ज ।  नागरिकता विद्येयक प्रमाणीकरण भएसँगै ऐन बनेर राजपत्रमा पनि प्रकाशीत भएपछि अब नागरिकता वितरण सुरु हुने भएको छ । गृह मन्त्रालयले शुक्रवार नै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नयाँ ऐनबमोजिम नागरिकता प्रमाण पत्र वितरण गर्न परिपत्र पठाएसँगै आइतवारदेखि वितरण गरिने तयारी थालिएको छ । 

गृहमन्त्रालयकाअनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई नयाँ ऐन अनुसार नागरिकता वितरण सुरू गर्न परिपत्र गरिएको छ । गृह मन्त्रालयकी सहसचिव रूद्रादेवी शर्माले नयाँ कानुन अनुसार नागरिकता वितरण सुरू गर्न सबै जिल्ला प्रशासनहरूलाई परिपत्र गरेको बताइन् । 

नागरिकतासम्बन्धी नयाँ ऐनले पुरानो कानुनमा मुख्यतः चार वटा परिवर्तन गरेको छ । गृहको परिपत्रसँगै आइतबारदेखि नयाँ कानुन अनुसार जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानले, आमाको नामबाट मात्र नागरिकता लिनेहरूले र विदेशी बाबुबाट जन्मिएका नेपाली महिलाका सन्तानले पनि नागरिकता पाउने जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार नयाँ कानुन अनुसार २०७२ साल असोज ३ गते भन्दाअघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवैको नेपाली नागरिकता देखाएर १६ वर्ष पुगेपछि वंशजको नागरिकता पाउने छन् ।
 

Back to top