×

वीरगञ्ज । भारतको ओडिशामा रेल दुर्घटना हुँदा २ सय ३३ जना यात्रुको मृत्यु भएको छ भने ९ सय जनाभन्दा बढी घाइते भएका छन् । ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको रेल दुर्घटनामा २२३ यात्रुको मृत्यु भएको र ९ भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

बीबीसी हिन्दी सेवाका अनुसार हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस रेल अर्को मालगाडीसँग ठोक्किएर दुर्घटना भएको थियो। साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट रेल पनि ठोक्किएको थियो। एकै ठाउँमा तीन वटा रेल ठोक्किएको समाचारमा जनाइएको छ ।

ओडिशाका मुख्य सचिव प्रदीप जेनाले ट्विट गर्दै दुर्घटनामा मृत्यु हुनेको संख्या २३३ पुगेको पुष्टि गरेका छन् । उनले दुर्घटनामा परी करिब ९ सय जना घाइते भएको पनि जनाएका छन् ।

भारतका रेलमन्त्री अश्विनी वैष्णव आफैं दुर्घटनास्थल पुगेका छन् । उनले ट्वीट गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । यसका साथै उनले गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले शनिबार एक दिन राज्य शोकको घोषणा गरेका छन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ओडिशा रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । ट्विट गर्दै प्रधानमन्त्री प्रचण्डले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका हुन् ।

Back to top