×

वीरगञ्ज ।  सूचना भन्दा पनि सम्वेदनशिलतालाई साहित्यमार्फत पोख्नुपर्नेमा बरिष्ठ साहित्यकार डा. नवराज लम्सालले जोड दिए । वीरगञ्जमा साहित्य अनुरागीहरुसँगको अन्तरक्रिया एवम् भलाकुसारीका क्रममा उनले साहित्यमार्फत सूचना दिने प्रवृतिप्रति असन्तुष्टी जनाउँदै अनुभव एवम् सम्वेदनशिलतालाई समावेश गर्नुपर्ने धारणा राखेका हुन् । 

आर्थिक एवम् औद्योगिक नगरीको रुपमा परिचित वीरगञ्ज साहित्य र संस्कृतीको क्षेत्रमा अब्बल हुँदाहुँदै पनि ओझेलमा परेको बताउँदै उनले नवपुस्ताले वीरगञ्जको साहित्यको पूरानो विरासतलाई फर्काउनुपर्ने बताए । उनले भने, ‘सूचना दिनका लागि अहिले इन्टरनेट छ, सबै किसिमका सूचनाहरु नेटको भरमा एकछिनमै मोवाइलमा प्राप्त गर्न सकिन्छ । त्यसैले अब सृजना सूचनामुलक भन्दा पनि ऊर्जापरक एवम् सम्बेदशीलतामुलक हुन आवश्यक छ ।’ 

सृजनाका क्रममा अरुले के भन्छन् भन्ने कुरावालाई बेवास्ता गर्दै आफ्नो लक्ष्यअनुरुप निरन्तर अगाडी बढेमा नाम र पहिचान दुवै बन्ने लम्सालको दावी छ । आफुले कर्ण र धारा लेख्दा कसैले पनि महत्व नदिएको स्मरण गर्दै अग्निले धेरै चर्चा बटुलेको पनि सुनाए । मदन पुरस्कारसहित विभिन्न साहित्यिक संस्थाद्वारा वर्षकै उत्कृष्ट पुस्तकको रुपमा पुरस्कृत हुनु नै निरन्तरताको उपलब्धी भएको लम्सालको बुझाई छ । 

साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीले लेखकले लेख्ने र पाठकले बुझ्नेबीचको अन्तरका विषयमा बहस हुनुपर्ने आवश्यक्ता औँल्याइन् । उनले भनीन्, ‘हामीले लेखीरहेका हुन्छौ, तर हामीले लेखेको र पाठकले बुझेको कुरामा अन्तर हुँदा लेखकलाई नै प्रश्न उठ्ने गर्छ । यसमा बहस गर्न आवश्यक छ ।’ 

ठाउँ, भुगोल, वर्ग, समुदाय लगायतका बारेमा किन नलेखेको भनेर समाजले गर्ने प्रश्नबाट टाढा रहेर आफ्नो धारणा र विचारलाई स्वतन्त्रतापूर्वक लेख्नु नै साहित्यको मुल मर्म हुने उनको ठम्याई छ । समाजमा कसैलाई असर नपर्ने गरी भावनाहरु व्यक्त गर्नुपर्नेमा जोड दिँदै उनले नयाँ पुस्तालाई पनि साहित्यतर्फ अभिप्रेरित गर्ने र अग्रजको सम्मान गर्ने बाटोमा साहित्यिक चौतारी नेपाल अग्रसर रहेको पनि उनले जानकारी गराइन् । 

लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमले सृजनालाई समावेशीकरण गराउने कुराले सृजनाको मौलिकता हराउने गरेकोमा चिन्ता व्यक्त गरे । सोही अवसरमा रचना लेख्दा विषयवस्तुको छनौटदेखि उठान गर्दासम्मको अवस्था एवम् सामाजिक दृष्टिकोण र लेखनका क्रममा हुने उतारचढावका विषयमा वैचारिक बहस पनि भएको थियो । 

डा. लम्सालसहित साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारी, चौतारी नेपालका मधेश प्रदेश सचिव सूर्य नारायण वि.क., लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतम, सुशिला भण्डारी, पत्रकार तुलसी भण्डारी लगायतले रचनासमेत वाचन गरेका थिए । बरिष्ठ साहित्यकारसँगै पत्रकारसमेत रहेका डा. लम्साललाई साहित्यिक चौतारी नेपालकी अध्यक्ष गीता भण्डारीले चौतारीको पाँचौ अंक र भण्डारीद्वारा लिखित ‘२१ औँ शताब्दीमा हामी’ पुस्तक पनि प्रदान गरेकी थिइन् । 

कार्यक्रममा रेडियो नेपालका वीरगञ्ज ब्यूरो प्रमुख ध्रुब अधिकारी, नारायणी वाङ्मय प्रतिष्ठानकी कोषाध्यक्ष कविता खड्का लगायतको उपस्थिती रहेको थियो । 


 

Back to top