×

राजविराज । सप्तरीको एक निजि स्कूलमा करेन्ट लागेर एक बालकको मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका छन् ।

जिल्लाको राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कूलको कक्षा १० मा अध्ययनरत राजगढ गाउँपालिका – १ झुटकीका लक्ष्मणप्रसाद यादवका १५ वर्षीय छोरा पेसलानन्दको शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएपछि विद्यार्थी आन्दोलित भएका हुन् । विद्यार्थी र अभिभावकसहितका स्थानीयले स्कूल अगाडि टायर बालेर प्रदर्शंग अरेका छन् ।

प्रत्यक्षदर्शीकाअनुसार विद्यालयले नियमित रूपमा शुक्रबार आयोजना गर्दै आएको खेलकुद प्रतियोगिताका लागि पेसलानन्दलाई स्पिकर बजाउन विद्युतको पोलमा हुकिङ गर्न खटाइएको थियो ।

हुकिङ गर्ने क्रममा ११ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मृत्यु भएको हो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

विद्यालय प्रशासनको लापरबाहीका कारण घटना भएको भन्दै विद्यार्थी विद्यालयको गेटअगाडि प्रदर्शनमा उत्रिएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो मात्रमा प्रहरी परिचालन गरिएको छ ।

Back to top