×

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) नेतृत्वको मधेश सकरारले स्थानीय तहसँग कमिसन लिएर आफूखुसी ससर्त अनुदानको ठूलो रकम वितरण गरेको आरोप लागेको छ ।

अर्थ मन्त्रलाय मार्फत भएको १ अर्ब २५ करोड रुपैयाँ बराबर रकम अर्थमन्त्रीले सञ्जय यादवले कमिसन लिएर आफूखुसी प्रदेशका विभिन्न स्थानीय तहलाई वितरण गरेको आरोप लागेको हो । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तामा सहभागी नेकपा माओवादी (केन्द्र) का प्रदेशसभा सदस्यहरुले प्रदेशका सथानीय तहलाई सम्मानपूर्वक व्यवहार गर्दै बराबर अनुदान दिनुपर्नेमा अर्थमन्त्री सञ्जय यादवले १० प्रतिशत कमिसन लिएर मनमौजी ढंगबाट आफूखुसी रकम वितरण गरेको आरोप लगाएका छन् ।

प्रतिपक्षी दल एमालेले विहिबार यसै विषयलाई उठान गर्दै प्रदेशसभाको बैठक अवरुद्ध समेत गरेको गर्‍यो । अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्त्यतिर विधि–प्रक्रिया नपुर्‍याएर दलीय झुकाव र कमिसन लिएर ससर्त अनुदानको रकम वितरण गरेको आरोप लगाएर सरकारको जवाफ माग गर्दै प्रतिपक्षी दल एमालेका नेता सरोजकुमार यादवसहितका प्रदेश सांसद्हरुले बैठक अवरुद्ध गरेका थिए । स्थानीय तहहरुले माग गरेको योजनाभन्दा पनि आफूखुसी कमिसन लिएर सञ्जय यादव आफूखुसी योजना थपेर ससर्त अनुदानको वितरण गरेको एमालेको भनाई छ ।

अर्थ मन्त्रालयले जेठको पहिलो साता मात्रै मधेश प्रदेशका १ सय ३६ स्थानीय तहलाई आफूखुसी ससर्त अनुदानको रकम वितरण गरेको छ । ससर्त अनुदान कार्यविधिमा नगरपालिका र गाउँपालिकालाई एकैनासको रकम पठाउनुपर्ने प्रावधान रहेपनि बढीमा ९ करोडदेखि घटीमा २५ लाख रुपैयाँ पठाइएको सांसद्हरुको आरोप छ ।

अर्थले ससर्त अनुदानको रकम लैजानका लागि चैतमा प्रकाशन गरेको सूचना स्थगन गर्दै वैशाखमा फेरि अर्को सूचना निकालेको थियो । ससर्त अनुदानको योजना र रकम मागका लागि सम्बन्धित पालिकाको इमेलबाट अर्थ मन्त्रालयको आधिकारिक इमेलमा पठाउनुपर्ने प्रावधान छ । तर, अर्थले इमेलमा प्राप्त भएको योजनालाई बाइपास गरेर अरु माध्यमबाट आएको योजनामा ससर्त अनुदानको रकम हालेर पठाएकोमा स्थानीय तहका जनप्रतिनिधिले आपत्ती जनाएका छन् ।

प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता सरोजकुमार यादवले ससर्त अनुदानको रकम वितरणमा अर्थ मन्त्रालयले मनोमानी गरेको आरोप लगाए । ससर्त अनुदान रकम कुन दलको जनप्रतिनिधि जितेको छ, त्यसको आधारमा जाने हो कि ? भनेर प्रदेशसभा बैठकमा उनले प्रश्न गरे । ‘ससर्त अनुदानको रकम वितरणमा गज्याङगुजुङ भएकै हो । केही अदृष्य विषयवस्तु छ,’ विपक्षी नेता यादवले भने, ‘मेरै क्षेत्रको एउटा पालिकामा ससर्त अनुदान गएको छ, अर्को पालिकामा छैन ।’ उनले ससर्त अनुदानको रकम वितरणमा बदमासी भएको भन्दै संसदीय छानविन समिति गठनको माग गरे ।

नेकपा माओवादी (केन्द्र) का संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ मन्त्रालयमा चरम बेथिति रहेको बताए । ‘हाकाहाकी १० प्रतिशत रकम (कमसिन) लिएर अनुदान पठाइएको छ, बारा उपनिर्वाचनको खर्च उठाउन थालेछ कि क्या हो’ उनले भने ।

ससर्त अनुदान वितरणमा मनोमानी भएको सम्बन्धमा सरकारको जवाफ माग्दै एमालेले प्रदेशसभाको बैठक अबरोध गरेपछि प्रदेशसभा पुगेका मुख्यमन्त्री सरोजकुमार यादवले राष्ट्रपति, उपराष्ट्रपति र बारा उपनिर्वाचनमा व्यस्त भएकाले ससर्त अनुदान वितरणमा समन्वय गर्न नसकिएको बताए । ‘चुनावमा व्यस्त भएकाले सांसदहरुसँग समन्वय हुन सकेन । अब बजेट र नीति तथा कार्यक्रममा सांसदहरुको भावनाको कदर गरिनेछ,’ मुख्यमन्त्री यादवले प्रदेशसभा बैठकमा भने, ‘ससर्त अनुदानमा चलखेल र बिचौलियालाई हाबी हुन दिन्नौं ।’

*यसअघिको शिर्षक र समाचारमा त्रुटिवस मधेशका मुख्यमन्त्री सरोजकुमार यादवमाथि पनि कमिसन लिएको आरोप लागेको भन्ने लेखिन गएको हुँदा त्यसलाई सच्याइएको छ। - सम्पादक ।

Back to top