×

साङ्केतिक तस्विर ।

वीरगञ्ज । रौतहटको देवाही गोनाही नगरपालिका–१  करुनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीय शेख तैयब रहेका छन् । विहीवार बिहान टाउकोमा गोली लागेर मृत्यु भएको अवस्थामा तैयबको शव भेटिएको हो ।

तैयबलाई गोली कसले हानेको हो भन्ने खुलेको छैन । करुनिया नजिकै रहेको आरोही बाल एकेडेमी नजिक तैयबको शव विहीवार भेटिएको हो । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीर बहादुर बुढामगरले जानकारी गराए ।

हत्या कुन उद्देश्यले कसले गरेको हो भन्ने जानकारी बाहिर आएको छैन । तैयबको हत्याको खबर गाउँमा फैलिनासाथ सन्त्रासको वातावरण फैलिएको छ । उनको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पुर्‍याइएको छ । आफन्तहरुले घटनाको अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

रौतहटमा एकपछि अर्को हत्या भइरहेको छ । गत शनिवार राति रौतहट सदरमुकाम गौर नगरपालिका ७ सिसवामा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको थियो । छुरा प्रहारबाट मृत्यु भएको घटनाको एक हप्ताभित्र गोली प्रहारबाट मृत्यु भएको अर्को घटना भएको हो ।

सामान्य विवादमा सिसवामा छिमेकी यार महम्मद र शेख कबिरबीच झगडा भएको हुँदा शेख कबिरले यार महम्मद खानमाथि छुरा प्रहार गरेको थियो । बायाँ छातिमा छुरा प्रहारपछि गहिरो घाउ लागेका ५० वर्षीय यार महम्मद खानलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । अस्पतालमा लगे लगत्तै खानलाई मृत घोषणा गरिएको थियो ।

खानलाई छुरा प्रहार गर्ने शेख कबिरलाई प्रहरीले चौबिस घन्टाभित्रै पक्राउ गर्न सफल भएको थियो । लगातार हत्याका दुई घटना भएको रौतहटमा अहिले सन्त्रासको वातावरण भएको छ ।

Back to top