×

वीरगञ्ज । साहित्यिक चौतारी नेपालको आयोजनामा सञ्चालन गरिएको १५ दिने  आनन्दशाला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चौतारीकी अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा गत वैशाख २५ गतेदेखि सुरु भएको १० वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिका लक्षित १५ दिने निःशुल्क प्रशिक्षण सम्पन्न भएको हो । 

नेपाल बाल साहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट गरिएको प्रशिक्षण कार्यक्रममा १५ दिनसम्म प्रशिक्षण लिएका १९ जना बालबालिकाहरूले रचना वाचन  गरेका थिए  ।

समापन कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा वरिष्ठ साहित्यकार डा. गणेशप्रसाद भट्टराई, साहित्यिक चौतारी नेपालका सल्लाहकारद्वय प्रभा आचार्य भट्टराई र सन्दीप संग्रौला दिलदुखी, अमेरिका शाखा सल्लाहकार  राम लामा अभिलाषी, साहित्यकार  रामदेव पाण्डे लगायतले सम्बोधन गरेका थिए । सहभागीका तर्फबाट गौरव जोशी र दियासा तिवारीले अनुभव सुनाएका थिए ।

नेपाली भाषाको ज्ञान र शुद्धताका विषयमा साहित्यिक चौतारी नेपालका भाषिक शुद्धीकरण प्रशिक्षक शंकर ढकाल र उपाध्यक्ष सरू बस्नेतले प्रशिक्षण दिएका थिए भने साहित्यका विभिन्न विधाहरूका बारेमा  ६ जना वरिष्ठ साहित्यकारहरूले प्रशिक्षण दिएका थिए । 

समापन कार्यक्रमको साहित्यिक चौतारी नेपालका महासचिव रामप्रसाद सुवेदी संगमले सञ्चालन गररेका थिए ।
 

Back to top