×

भारत सरकारले दुई हजार रुपैयाँको नोट बन्द गर्ने निर्णय गरेपश्चात् आज (२३ मे) देखि उक्त दरका नोट साट्न सकिने प्रक्रिया सुरु भएको छ ।

बैंकमा गएर दुई हजारका नोटलाई अन्य नोटहरुमा बदल्न सकिने छ ।

भारतीय रिजर्व बैंक (आरबीआई)ले दुई हजारको नोट फिर्ता लिने घोषणा गर्दै २३ मे देखि ३० सेप्टेम्बरसम्म बैंकमा गएर यसलाई बदल्न सकिने जनाएको थियो ।

आरबीआईकाअनुसार एक पटकमा केवल १० वटा दुई हजारका नोटहरु साट्न सकिनेछ । यसरी नोट साट्न कुनै पनि अतिरिक्त शूल्क लाग्नेछैन ।

१९ मे मा आरबीआईले २ हजारको नोट जारी गर्नका लागि पूर्ण रुपमा रोक लगाएको थियो । सोही दिन नोट साट्ने विषयमा पनि भारतका सम्पूर्ण बैंकहरुलाई निर्देशन दिइएको थियो ।

आरबीआईले जनाएअनुसार ३० सेप्टेम्बरसम्म २ हजारको नोट साट्न सकिनेछ । तर, त्यसपछि के हुनेछ भन्ने विषयमा भने आरबिआईले केही पनि जनाएको छैन ।

भारतमा ३.६२ लाख करोड रुपैयाँ बराबरका २ हजार नोटहरु रहेका छन् । यी नोटहरुको सबैभन्दा धेरै सर्कुलेसन ३१ मार्च २०१८ मा भएको थियो । त्यो बेला ६.७३ लाख करोड रुपैयाँ बराबरको नोट बजारमा थियो ।

भारत सरकारले पहिलो पटक २०१६ मा २ हजारको नोट सार्वजनिक गरेको थियो । त्यतिबेला ५ सय र १ हजार भारुको नोट बन्द गरेर नोटबन्दी लगाइएको बेला मुद्राको आवश्यकतालाई परिपूर्ति गर्नका लागि २ हजारको नोट भारत सरकारले जारी गरेको थियो ।

Back to top