×

वीरगञ्ज । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीको दिन सीता जयन्ती मनाउने गरिन्छ । यस दिनलाई पावन नवमी पनि भनिन्छ । वैदिक सनातन हिन्दू धर्ममा आस्था राख्ने हिन्दू धर्मावलम्वीहरुले रामायणकी मुख्य पात्र तथा हिन्दू आस्थाकी केन्द्रबिन्दु मानेर सीताको जयन्ति मनाउने गरिन्छ ।

पुष्य नक्षत्रमा जन्मीएकी सीता सनातन दर्शनको एउटा महान नारी दृष्टान्त हुन् जसको नाम सदासर्वदा लिइन्छ । सीता उत्पत्तीको कथा पद्मपुराण र भविष्यपुराण (सीतानवमी व्रत महात्म्य) मा विस्तारले भनिएको छ । सीताको अर्थ संस्कृत शब्दकोशमा हलोले जोत्दा जमीनमा परेको डोब, जोतिएको जमीन,हलोको फालीबाट जमिनमा बनेको रेखा भनिएको छ ।

सीताको जन्मका बारेमा वाल्मीकि रामायण, आनन्दरामायण,अद्भूतरामायण,अध्यात्मरामायण,कम्बरामायण, (तमिलरामायण) देवी भागवत आदि पुराणमा फरक कथाहरु भेटिन्छन् । अन्य किम्बदन्ति र प्रक्षेप रामायण र देवी भागवत पुराण अनुसार विश्वकर्मा (मय) की छोरी मन्दोदरीसँग विवाह हुँदा रावणले पहिलो सन्तानका कारण वंश नाश हुन्छ भन्ने सुनेकाले जन्मिनासाथ कन्यालाई टाढा जनकपुरमा लगेर गाडेको थियो ।

अद्भूतरामायण अनुसार रावणले ऋषिहरुबाट करको रुपमा रगत असुल गर्दथ्यो । एक ऋषिले सधैँ कुशको टुप्पाबाट निस्किएको दूध घैँटामा जम्मा गर्दथे । रावणले त्यो घैँटो चोरी दूध जति आफ्नो घैँटामा भरेको थियो । मन्दोदरीले आत्महत्याको उद्देश्यले त्यही रगत मिसिएको दूध खाइन् र गर्भ रहन गयो । यस गर्भलाई उनले जमीन मुनि गाडिदिएकी थिइन् । राजा जनकले हलो चलाउँदा सीता फेला पारेका हुन् ।

आनन्द रामायणको कथामा मिथिला भूमिमा एक व्राहृमणले बाकसमा कन्या भेट्टाए र राजा जनकलाई दिए । मिथिलामा बाकस गाड्ने रावणले गरेका थिए । गाड्दाखेरि सीताले रावणलाई श्राप दिँदै भनेकी थिइन ‘म फेरि लङ्का आई तँ र तेरो वंशलाई सखाप पार्नेछु ।’

कम्बरामायणका अनुसार शीरध्वज (जनक) का भाई कुशध्वजकी छोरी वेदवती रावणका कारण आगामा होमिई खरानी भएकी थिइन् र त्यही खरानीबाट वेदवतीले सीताको अवतार लिएकी हुन् । यो कथा अनुसार सीता कुशध्वज र मालावतीकी छोरी प्रतीत हुन्छिन् । 

तुलासीदास ले राम चरित्रमानसमा सीता पृथ्वीबाट उत्पन्न भएको देखाउनु भएको छ । राजा जनकले सीतालाई स्थान स्थानमा ‘ममात्मजा’ मेरी पुत्री भन्नुभएको छ । सीताजीले उर्मिला (लक्ष्मणकी पत्नी) लाई अनुजा भन्नुभएको छ । अनुजाको अर्थ हो –‘पश्चाज्जायत इति’ जो पछाडी उत्पन्न भएको ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

सुखसयलमा हुर्केकी सीता पतीसँग वनवास अनि कठोर बसाईं हुँदै लंकामा रावणको अधिनमा समेत बस्नुपर्ने हुन्छ । सीताको जीवनमा एउटा उदहारणीय उतार चढाव पाइन्छ, उनका हरेक कुरा अनि निर्णयले मानवजातीलाई ज्ञान अनि सहनशीलता सिकाएको छ ।

सीताको चित्रणमा कान्ती अनि शशक्तता दुबै पाइन्छ । स्वामी विकेकानन्दले त प्रष्टसँग भनेका छन् कि भविष्यमा या भूतकालमा धेरै रामहरु भएका या हुनसक्ने सम्भावना होला तर सीता केवल एक मात्र छिन् र हुनेछिन् । सीतालाई रामभन्दा पहिले नाम लिइन्छ तसर्थ रामसीता भन्दा पनि हामी सीतारामको नाम सुन्दछौँ । नेपालको जनकपुरमा जानकी मन्दिर सुशोभीत छ ,झलल बलेको यस मन्दिरमा रामायणका झल्कोहरु प्रत्यक्ष देख्न पाइन्छ ।

अविचलीत सीता अनि मर्यादा पुरुषोत्तम रामका कहानीहरु तपाई हाम्रा घरघरमा अझै सुनिन्छन् र सुनाइन्छन् । सीता नारीमात्र होईनन् ,भक्ति हो, शक्ति हो अनि एउटा उदहारण हो नारीहरुको असिमीत धैर्यता,सहनशीलता र उदारताको । धर्म र साधनाकी देवी सीताको ममताशयलमा विश्व सदैव रंगीरहेकोछ ।

Back to top