×

वीरगञ्ज ।  २०५० सालमा प्रहरी निरीक्षकको खुला प्रतिस्पर्धाबाट भर्ना भएका मधेशी समुदायका एक मात्र एसएसपी अनुरागकुमार द्विवेदीलाई डिआईजी बढुवामा विभेद गरियो । 

२९ चैत २०७९ मा गृहमन्त्रालयले गरेको डिआईजी बढुवामा द्विवेदीको नाम अटाउन सकेन । विभिन्न निर्वाचनका क्रममा ठूलाठूला डिंग हाँक्ने मधेशवादी दलका नेताहरु मधेश प्रदेशकै एक मात्र एसएसपीलाई डिआईजी बनाउन चुकेका छन् । स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनसँगै अहिले नजिकिँदै गरेको उपनिर्वाचनका क्रममासमेत मधेशीको हकहितका लागि आवाज उठाउने भाषण दिने नेताहरुले नै मधेशी समुदायका एसएसपीमाथि अन्याय हुँदा मौन बसेका छन् । 

प्रहरी निरीक्षकदेखि प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवा हुँदासम्म पनि एसएसपी द्विवेदीमाथि अन्याय भएको बढुवा रेकर्डले स्पष्ट पार्छ । प्रहरी निरीक्षकबाट एक साउन २०६४ मा दुई नम्बरमा प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा भएका उनी बढुवा सूचीमा नअटाउनुलाई शंकास्पद रुपमा हेरिएको छ । 

डिएसपी (प्रहरी नायब उपरीक्षक) मा बढुवा हुँदा रोल क्रममा २ नम्बरमा हुँदा पनि ८ फागुन २०७२ मा १७ जना प्रहरी उपरीक्षकमा बढुवा हुँदा द्विवेदीलाई छुटाइयो । उनलाई छुटाउनुमा कुनै समस्या भएन, तर उनीभन्दा रोल क्रममा तल रहेका प्रहरी अधिकृतको बढुवा हुनु भने आपत्तीजनक हो । 

यहाँ मात्रै उनीमाथि विभेद भएन, एसएसपीबाट बढुवा हुँदा पनि त्यही क्रम दोहोरियो । एक पुष २०७७ मा एसपीबाट एसएसपीमा पहिलो लिष्टको बढुवामा दोस्रो लिष्टको एसपीबाट पनि बढुवामा पर्दा रोल क्रम १ नम्बरमा हुँदा पनि उनी छुटे ।

त्यस्तै २९ पुष २०७७ मा निकालिएको बढुवाको दोस्रो लिष्टमा पनि रोल क्रम १ नम्बरमा हुँदाहुँदै उनीभन्दा रोल क्रम तल रहेका प्रहरी उपरीक्षकहरुको बढुवा भयो । त्यसमा पनि उनको नाम छुटाइयो । एकपटक हुनु अपवाद भएपनि पटकपटक उनको नाम छुट्नुलाई सामान्य रुपमा बुझ्न सकिँदैन । उनी मधेशी समुदायकै भएका कारण उनीमाथि विभेद भएको हुन सक्ने आशंका उत्पन्न भएको छ । 

बिर्सनै नहुने कुरा के छ भने २०५२ सालदेखि २०६३ सालसम्म असईबाट बढुवा भएर प्रहरी निरीक्षक बनेपनि खुला प्रतिस्पर्धाबाट मधेशी समुदायका कोही पनि प्रहरी निरीक्षक बनेका छैनन् । प्राप्त जानकारीअनुसार डिआईजी बढुवामा आफूहरुमाथि अन्याय भएको भन्दै एसएसपीद्वय चक्रबहादुर सिंह र अनुरागकुमार द्विवेदीले लोक सेवा आयोगमा उजुरी पनि दिएका छन् । 

*सम्पादक : यसअघि शीर्षकमा मधेशी मुलका लेखिन् गएकोमा त्यसलाई सच्याएर मधेशी समुदायको गरिएको छ ।

Back to top