×

वीरगञ्ज, ७ चैत । विद्युतीय सवारीप्रति बढ्दै गरेको ग्राहकहरूको आकर्षणलाई मध्यनजर गर्दै वीरगञ्जमै कोमाकी कम्पनीको मोटरसाइकल र स्कूटरको शोरुम सञ्चालनमा हुने भएको छ । 

नेपाली बजारमा पाइने विभिन्न ब्रान्डमध्ये कोमाकी कम्पनीको मोटरसाइकल र स्कूटर बिक्रिका लागि वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाइपास रोडमा सञ्चालनमा आउन लागेको हो । 

चैते दशैको अवसर पारेर यही चैत ३० गते ओम जी ट्रेड इन्टरनेशनल शोरुमको उद्घाटन गर्ने तयारी रहेको शोरुमका सञ्चालक कृष्ण कुमार अग्रवालले जानकारी दिए । उनकाअनुसार यही शोरुम नै तराई एवम् मधेश प्रदेशको आधिकारिक बिक्रेता हुनेछ । नेपालका लागि भने कोमाकी विद्युतीय स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्राली हो । 

डिटी ३००० हाइ स्पीड सेग्मेन्टअन्तर्गत भारतमा निर्मित जापनीज टेक्नोलोजीको २ पाङ्ग्रे सवारीमा ६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ । 

यो स्कुटरलाई जम्मा ४ देखि ५ घण्टामा पूरा चार्ज गर्न सकिन्छ । यसमा जडित ब्याट्रीले एक पटकको पूरा चार्जमा १ सय ४० किलोमिटरदेखि १ सय ६० किलोमिटरको माइलेज दिने अग्रवालले बताए । यसको टप स्पीड भने प्रतिघन्टा ८० किलोमिटरको छ । 

कोमाकी डिटी ३००० मा मल्टिपल सेन्सर, सेल्फ डायग्नोस इन्स्ट्रुमेन्ट, एन्टी थेफ्ट लक, युएसबी पोर्ट, इमर्जेन्सी रिप्यर स्विच, डिस्क ब्रेकलगालयत विशेषताहरू पाइन्छ । 

नेपाली बजारमा यो कालो, निलो, रातो र ग्रे गरी चार विभिन्न रंग विकल्पमा उपलब्ध छन् । कोमाकी स्कुटीको मूल्य २  लाख ३५ हजारदेखि ३ लाख ३० हजारसम्म रहेको छ भने मोटरसाइकल (बाइक) को ४ लाख ३५ हजार रहेको कम्पनीले जानकारी दिएको छ ।

Back to top